घण्टेश्वर अनलाईन
सिलगढी डोटी
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको पढ्दै कमाउदै कार्यक्रमको लागि सुदूरपश्चिम प्रदेशबाट २० वटा बिद्यालय छनौटमा परेका छन । मन्त्रालयले देशभरबाट १ सय ४० बिद्यालयलाई कार्यक्रमको लागि छनौट गरेको छ ।
शिक्षा तथा मानव श्रोत बिकास केन्द्र भक्तपुरद्धारा प्रकाशित सूचना अनुसार डोटी जिल्लाबाट रामपूर माबि बुडर र सिताराम माबि उच्चाकोट छनौटमा परेका छन । डोटी जिल्लाबाट छनौटमा परेका रामपूर माबि बुडरमा ब्यकिट बन तथा वातावरण र सिताराम माबि उच्चाकोटमा कृषि कार्यक्रम सन्चालन गरिने सूचनामा जनाईएको छ ।
सो कार्यक्रमका लागि डडेल्धुरा जिल्लाबाट दुर्गा माबि आलिताल र सरस्वती माबि भत्काँडा, दार्चुला जिल्लाबाट लटिनाथ नमूना माबि चौपाटा र जनबिकास माबि बारबाँज, बझाँग जिल्लाबाट जलपा माबि रिठापाटा र भैरव माबि झोता, बैतडी जिल्लाबाट सुतीगाउँ माबि ककरपाखा र मणिलेक माबि काँडा, कन्चनपुर जिल्लाबाट महेन्द्रनगर माबि र शान्ति माबि बेलौरी छानिएका छन ।
यसैगरि कार्यक्रमको लागि छानिएका अन्य बिद्यालयहरुमा क्रमस अछामबाट: प्रभा धमकोट माबि साँफेवगर नपा र नेपाल राष्टिय माबि चाँफामाण्डौं, कैलाली जिल्लाबाट पशुपति माबि गौरीगँगा नपा र भवानी माबि धनगढी उपमहानगरपालिका, राष्टिय माबि मोहन्याल र बाजुरा जिल्ला जिल्लाबाट किर्तिचौर माबि कालादह र रत्न माबि त्रिबेणी नपा रहेको सूचनामा उल्लेख छ ।
सरकारले पहिलो पटक सन्चालन गर्न लागेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको पढ्दै कमाउदै कार्यक्रमको लागि प्रति बिद्यालय १० लाख अनुदान उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनका लागि देशभरबाट ५ सय ३६ प्रस्ताब परेकोमा उच्च अंकका आधारमा एक सय ४० बिद्यालय छनौट गरिएको शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिनु भयो । प्रबक्ता लुईटेलका अनुसार कार्यक्रमका लागि प्राबिधिक धार कार्यक्रम सञ्चालन भएका र यस्तै काम गरिरहेका बिद्यालयलाई कार्यक्रमको लागि प्राथमिकता दिईएको थियो ।
सरकारले सामुदायिक बिद्यालयमा अध्ययनरत स्वआर्जन गरी अध्ययन गर्न इच्छुक तथा गरिबीको कारणबाट आयआर्जन गरी पढ्नुपर्ने अवस्थामा रहेका बिद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याएको बताएको छ ।
विद्यार्थीहरूमा उद्यमशीलता, स्वावलम्बन, प्राबिधिक सीप तथा व्यावसयिक सोच बिकास गरी आत्मनिर्भर बनाउन र पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षालाई सुनिश्चित गरी आयआर्जनको अवसर प्रदान गर्न पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको मन्त्रालयले जनाएको छ ।
कार्यविधि बमोजिम छनोट भई अनुदान प्राप्त गर्ने बिद्यालयले कार्ययोजना सहित प्रस्ताव र स्थानीय तहसँग भएको सम्झौताको अधीनमा रहेर अनुदान रकम खर्च गर्न सक्ने व्यवस्था छ । उत्पादन तथा सेवा इकाइ सञ्चालनका लागि बिद्यालयको स्वामित्वमा रहेको वा भाडामा लिएकोे जग्गामा उत्पादनमूलक प्रकृतिको संरचना तयार गर्न, उपकरण र प्रयोगशाला वा वर्कसप तयार गर्न, यस कार्यक्रमको उद्देश्यअनुसार बिद्यार्र्थीको सकृयतामा बिद्यालयको जग्गामा वा बिद्यार्र्थीले आफ्नै जमिनमा वस्तु उत्पादन गरी बिक्री बितरण र खर्च गर्न सक्नेछन । तर, सो रकमबाट स्थायी प्रकृतिका भौतिक पूर्वाधार संरचना निर्माण लागि अनुदान रकम खर्च गर्न पाइनेछैन ।
बिद्यालयमा गठन भएको व्यावसायिक सिकाई समूहमा आबद्ध भएर बिद्यालयबाट तोकिएकोे समयमा सिकाईसँगै उत्पादन तथा सेवा इकाइ वा सोसँग सम्बन्धित गतिबिधि बिद्यार्थी संलग्न हुनुपर्नेछ । बिद्यालयमा सामूहिक तथा व्यक्तिगत व्यावसायिक योजना बनाई कार्यान्वयन गर्ने, समय समयमा स्थानीय कृषक एवं उद्योगी व्यवसायीहरूसँग भेटघाट, अन्तरकृया गरी उत्पादन तथा सेवाको बजार र सम्बन्धित सूचना संकलन गर्ने भूमिका हुनेछ ।