सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धि जानकारी अभाव

 

घण्टेश्वर अनलाईन
डडेल्धुरा
सुदूर पश्चिमका अधिकाँश ग्रामीण क्षेत्रमा महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धि जानकारी नभएको पाईएको छ ।
सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी र बझाँग जिल्लामा गरिएको प्रारम्भिक अध्ययनले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि जानकारीको अभावमा ग्रामीण क्षेत्रका महिला तथा किशोरी जोखिममा रहेको देखिएको नेपाल सिआरएस कम्पनी, फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।
ग्रामीण क्षेत्रमा अझैपनि धार्मिक अन्धबिश्वासको प्रभाव रहेको छ । जसले गर्दा महिनावारी भएको समयमा नियमित सरसफाई, सन्तुलित आहार, सकृय जीवनशैली, महिनावारी बग्ने रगतको व्यवस्थापनमा महिलाहरु तथा किशोरीहरुको पहुँच पुग्न नसकिरहेको कम्पनीका परियोजना सँयोजक मुकुन्द चटौतले जानकारी दिनु भयो ।
परियोजना अन्तरगत ४ जिल्लामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुले महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धि उपायहरु न्यून मात्रामा अपनाएको देखिएको थियो ।
महिनावारी भएको समयमा कतिपय स्थानमा स्कुल नजाने, महिनावारी भएको वेला पोषिलो खानेकुरा नखाने, घर भन्दा छुट्टै गोठमा बस्ने गरेको, बिद्यालय लगायत सार्बजनिक स्थानमा उपस्थित नहुने र बिद्यालयमा बितरण गरिएका सेनेटरी प्याडको पनि उचित प्रयोग तथा ब्यवस्थापनमा कमी जस्ता समस्याहरु अध्ययनका क्रममा पाईएको थियो ।
प्रारम्भिक अध्ययनका क्रममा पाईएका सवालका आधारमा नेपाल सिआरएस कम्पनीले बहुउद्देश्यीय बिकास समाज डडेल्धुरासँगको साझेदारीमा बैतडी, डडेल्धुरा, बझाँग जिल्लामा महिनावारी स्वच्छता ब्यवस्थापन परियोजना सन्चालन गरिरहेको छ ।
स्कूल जाने किशोरीहरु र महिलाहरुको महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी ज्ञान, दृष्टिकोण र अभ्यासमा सुधार गर्ने उद्देश्यले डोटी, डडेल्धुरा, बैतडी, बझाँग जिल्लाका ३८ वटा स्थानीय तहमा महिनावारी स्वच्छता ब्यवस्थापन परियोजना सन्चालित रहेको छ ।
परियोजना अन्तरगत ६ सय ३३ बिद्यालयका १ हजार २ सय ६६ जना शिक्षक र ८० हजार किशोरीहरुलाई लक्षित गरि महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धि बिभिन्न गतिबिधिहरु भईरहेको बहुउद्देश्यीय बिकास समाज डडेल्धुराका कार्यकारी निर्देशक प्रेम महरले जानकारी दिनु भयो ।
महिनावारी व्यवस्थापनमा स्वयँ किशोरी तथा महिलाको भूमिका, परिवारको भूमिका र बिद्यालयको भूमिकालाई बढाउन सहयोग गर्ने उद्देश्यका साथ परियोजनाका गतिबिधिहरु केन्द्रीत भईरहेको सो सँस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.