महिनावारी नियमित प्रक्रिया हो तर महिनावारीको समयमा धेरै महिलाहरूलाई यो गर्नु हुँदैन/ त्यो गर्नुहुँदैन भनेर रोक लगाइन्छ।
नेपालमा मात्रै होइन दक्षिण एसियामै महिनावारीको बारेमा यति धेरै ‘ट्याबु’ छ भने यौन शिक्षाको बारेमा झन् कति होला?
नपढेकाले त यसबारेमा गलत सोच राख्नुलाई स्वभाविक मानिन्छ तर पढेकाले पनि यसलाई सकारात्मक तरिकाले हेरेका हुँदैनन्। यौन शिक्षाको कुरा गर्दा अपराध गरेजस्तो ठानिन्छ।
कतिपय विद्यालयमा अझै पनि यौन शिक्षा, महिनावारी, प्रजनन स्वास्थ्यबारे पाठ नै नपढाउने चलन छ। जुन कुरा धेरै महत्वपूर्ण छ तर यसलाई बेवास्ता गरिन्छ। कतिलाई यसबारे जानकारी छैन तर जानकारी भएकाहरू समेत हिच्किच्याउँछन्।
परिवार नियोजनको साधन कसरी प्रयोग गर्ने भन्नेबारे नजान्दा पनि संक्रमण भइरहेको हुन्छ। धेरै पढे/लेखेका व्यक्तिले समेत सुरक्षाका साधन प्रयोग गरेका हुँदैनन्।
महिनावारीको समयमा धेरै रगत जाने भएकाले सरसफाइमा कसरी ध्यान दिने भन्ने हुन्छ। स्यानिटरी प्याड कति बेलासम्म लगाउने त? एक पटक लगाएपछि ४ देखि ६ घण्टामा परिवर्तन गर्नुपर्छ। धेरै रगत बगेको बेलामा २ घण्टामै फेर्नुपर्छ। रगत बगेको छैन भने पनि ४ घण्टामा अनिवार्य फेर्नैपर्छ।
योनीलाई दिनमा कम्तीमा एकपटक सफा पानीले सफा गर्नैपर्छ। महिनावारीको समयमा यो खान हुँदैन, त्यो खान हुँदैन भनिन्छ तर यो समयमा धेरै पौष्टिक र सन्तुलित खाना खानुपर्छ।
महिनावारीको समयमा कसैलाई सहज हुन्छ तर कतिलाई भने धेरै दुःखाइ हुन्छ। मलाई पनि पिरियडमा धेरै दुःखाइ हुन्छ। यो समयमा हामीले पूर्ण रूपमा आराम भने गर्नु हुँदैन। हल्का काम र व्यायाम गर्नुपर्छ। तातोपानी खानुपर्छ, ‘हट वाटर ब्याग’ ले सेक्न सकिन्छ। त्यस्तै चिकित्सकको सल्लाहमा औषधि खान सकिन्छ। औषधि खाएकाहरूले पानी धेरै खानुपर्छ।
११ देखि १५ वर्षसम्मको उमेरलाई महिनावारीको उपयुक्त उमेर मानिन्छ। ४० देखि ५५ वर्षको उमेरमा महिनावारी सुक्न सक्छ। महिनावारी भएदेखि नसुकेसम्मको उमेरलाई ‘फर्टाइल पिरियड’ भनिन्छ।
सरसफाइमा ध्यान नदिएको कारणले पाठेघरको मुखको क्यान्सर नेपालमा धेरै हुन्छ। राम्रो खालका स्यानिटरी प्याडको गतिलोसँग प्रयोग नगरिएकाले यस्तो भएको हो। यद्यपि पाठेघरको मुखको क्यान्सरका अरू थुप्रै कारण छन्।
महिनावारीको समयमा मात्रै होइन, अरू समयमा पनि सरसफाइमा ध्यान नदिँदा संक्रमण भइरहेको छ। योनीको सफाइ गर्दा साबुनको प्रयोग गर्नु हुँदैन। कपडा फेर्नेदेखि सरसफाइको कुरा महत्वपूर्ण हुन्छ।
विकसित देशमा पनि समस्या नभएका होइनन्। तर विकासोन्मुख देशहरूमा कुनै हानी नभइकन स्वास्थ्य परीक्षण गरिँदैन। नेपाल भनेपछि काठमाडौंलाई मात्र सोचिन्छ। तर दुर्गम क्षेत्रमा स्वास्थ्य परीक्षण गर्न झन् धेरै समस्या छ भने व्यक्ति स्वयम् पनि हिचकिच्याउँछ। त्यसैले नेपालमा असुरक्षित यौन सम्पर्क गरेका धेरैलाई संक्रमण भएको पाइन्छ।
प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्याउनुपर्ने आवश्यकताबारे हामीले डा.गरिमा श्रेष्ठसँग भिडिओ कुरा गरेका छौं। सेतोपाटीबाट
हेर्नुहोस् भिडिओ