घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली नयाँ बर्षको आगमन नजिकिदै गर्दा टेक्सासमा रहेका सुदूरपश्चिमेली समुदायमा बिसु पर्बको रौनक बढ्न थालेको छ । यहाँका सुदूरपश्चिमेली समुदायले नयाँ बर्षको दिन बैशाख १ गते घरघरमा र बैशाख ३ गते अर्थात अप्रिल १६ मा सामुहिक रुपमा बिसु पर्ब मनाउने भएका छन ।
यहाँका सुदूरपश्चिमेली समुदायले अप्रिल १४ मा घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुव्का लगायतका डोटेली खानाका परिकारहरुको स्वादमा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष अर्थात बिसु पर्ब मनाउने छन भने अप्रिल १६ मा ग्रेपभाईन स्थित पार्कमा सामुहिक रुपमा बिसु पर्ब मनाईने तयारी भईरहेको सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।
अप्रिल १६ आईतबारका दिन ग्रेपभाईनमा सुदूरपश्चिमेली समुदायको उल्लेख्य सहभागितामा बिहान १०ः०० बजे देखि बेलुकी ७ः३० बजेसम्म सुदूरपश्चिमको मौलिक पन झल्किने गरि बिसु पर्ब मनाईने सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष नवराज नाथ योगीले बताउनु भयो । अध्यक्ष योगीका अनुसार बिसु पर्बको अवसरमा निःशुल्क प्रबेश तथा भोजन, बिबिध साँस्कृतिक कार्यक्रम, डेउडा कार्यक्रम, शुभकामना आदान प्रदान कार्यक्रम लगायतका कार्यक्रम रहेका छन ।
हामी भौतिक रुपमा जहाँ भएपनि आफ्नो चाल चलन, धर्म सँस्कृति भनेपछि हुरुक्कै हुने गर्दछौं । नेपाली चाडपर्बहरुको माध्यमबाट नेपाली धर्म सँस्कृतिको सँरक्षण, प्रबद्र्धन तथा पुस्तान्तरण गर्न सहयोग पुग्ने सुदूरपश्चिमेली अगुवाहरु बताउछन ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गोबिन्द शाहीले ग्रेपभाईनमा अप्रिल १६ मा आयोजना गरिएको नयाँ बर्ष तथा बिसु पर्ब कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने सुदूरपश्चिमबासीहरु सार्बजनिक रुपमा चुले निम्तो दिईएको बताउनु भयो ।
अमेरिकामा अधिकाँश मानिसहरु काममा व्यस्त हुने भएकाले चाडपर्बको अघि वा पछि सबैलाई पायक पर्ने गरि चाड पर्बहरु मनाउने परम्परा रहेको छ ।
केहो बिसु पर्ब ?
बिसु पर्व सुदूरपश्चिम क्षेत्रको प्रमुख चाड हो । विषेशगरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा महत्वका साथ मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लामा वैशाख एक गते मनाउने प्रचलन रहेको छ । बिसु पर्बमा खासगरि देवरभाउजू, नन्दभाउजू र साली भिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर रमाईलो गरि यो पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।
विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्बमा ईस्टमित्र, नाता कुटुम्बहरु, एकै ठाउँमा जम्मा भएर शुभ कामना आदानप्रदान गर्ने, निसौसे, रोट, माणा, गतानी डुव्का लगायतका डोटेली खानाका परिकारहरु खाने गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।