आगामी दुई बर्षको समय टेक्सास च्याप्टरलाई नमूना बनाउने काममा खर्चिन्छु ः प्रदीप चौलागाईं, अध्यक्ष पदका उम्मेदवार टेक्सास च्याप्टर
अमेरिकामा एनआरएन निर्बाचन ः उम्मेदवारहरुसँग घण्टेश्वर अनलाईनको साक्षात्कार
घण्टेश्वर अनलाईन ः उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा स्वागत छ, प्रदीप जि
प्रदीप चौलागाई ः तपाई अनि तपाईको लोकप्रिय अनलाईनलाई पनि धेरै धेरै धन्यवाद ।
घण्टेश्वर अनलाईन ः तपाई टेक्सास स्थित एनआरएनएका आम सदस्यहरु, मतदाताहरुलाई आफ्नो परिचय कसरी दिनु चाहानु हुन्छ ?
प्रदीप चौलागाई ः सबै मतदाताहरुमा हार्दिक नमस्कार । मेरो नाम प्रदीप चौलागाई हो । मेरो घर नेपालमा काभ्रे कोशीपारी हो । म सन २०१४ सालमा अमेरिकाको टेक्सास आएको हुँ । अमेरिका आए देखि नै म टेक्सासको अस्टिनलाई कर्मक्षेत्र बनाएर सामाजिक क्षेत्रमा सकृय रहँदै आएको छु ।
घण्टेश्वर अनलाईन ः तपाईले सामाजिक क्षेत्रमा सकृय रहेको बताउनु भयो । तपाई टेक्सास आएपछिको सामाजिक क्षेत्रको आबद्धता बताई दिनुस न ?
प्रदीप चौलागाई ः मानिस सामाजिक प्राणी भएकाले समाजमा बस्न चाहान्छ । समाज सेवा गर्नको लागि एउटा प्लेटफर्म चाहिन्छ । सन २०१४ मा टेक्सासको अस्टिनमा आए देखि सामाजिक काममा सकृय रहँदै नेपाली समुदायको दुःखसुखमा साथ दिदै आएको छु । म पदमा हुँदा पनि नहुँदा पनि सामाजिक काममा छु । म अहिले टेक्सासको अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली समाजको फाउन्डर ट्रस्टी, नेपाली समाज टेक्सासको आजिवन सदस्य, गैर आवासीय नेपाली सँघको सन २०१४ देखि सदस्य भई निरन्तर सकृय रहँदै आएको छु । गैरआवासीय नेपाली सँघको बिभिन्न अभियानमा निरन्तर सँलग्न छु ।
म गैरआवासीय नेपाली सँघ टेक्सास च्याप्टरको (सन २०१९–२१) को युथ कोअर्डिनेटर भई काम गरेको अनुभव छ । अहिले गैरआवासीय नेपाली सँघ अमेरिकाको टेक्सास च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ः तपाईले टेक्सास च्याप्टर अध्यक्ष पद नै किन रोज्नु भयो ?
प्रदीप चौलागाई ः मैले माथी पनि उल्लेख गरिसकें, म सन २०१४ देखि एनआरएनए अभियानमा निरन्तर सकृय छु । मैले एनआरएनए अभियानलाई नजिकबाट बुझेको छु । अध्ययन गरेको छु । टेक्सासको भुगोल बुझेको छु । नेपाली समुदायका साझा समस्या बुझेको छु । च्याप्टरमा काम गर्दा अवसर र चुनौती बुझेको छु । त्यसैले नेपाली समुदायका लागि नेपाली समुदायसँगै काम गर्न ईच्छा भएकाले मैले टेक्सास च्याप्टर अध्यक्ष पद रोजेको हुँ । मलाई कसैले उक्साएर उम्मेदवारी दिएको होईन । आफुले निर्णय गरेर उम्मेदवारी दिएको हुँ ।
घण्टेश्वर अनलाईन ः एउटा च्याप्टरको अध्यक्षमा ५ जना उम्मेदवार नउठेको भए हुन्थ्यो भनेर मतदाताहरुको भनाई रहेको छ । सर्बसहमतीको प्रयास नगरेकोकी पहल गरेर पनि सहमति नभएको ?
प्रदीप चौलागाई ः सर्वसहमतीको प्रयास हुनुपर्छ भनेर पहको शुरुवात गर्ने म हुँ । म सबै साथीहरु एक ठाउँमा बसौं। छलफल गरौं र एक जनाको नाममा सहमति जुटाऔं भनेर अस्टिनबाट ४÷५ पटक ड्यालस आएको छु । एकातिर सर्बसहमतिको प्रयास भईरहँदा नयाँ नयाँ साथीहरुको उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी रह्यो । त्यस कारण सहमतिको प्रयासले सार्थकता पाउन नसकेको हो ।
घण्टेश्वर अनलाईन ः टेक्सास राज्यको भुगोल ठूलो छ । तपाईले निर्बाचन अभियानलाई कसरी अघि बढाई रहनु भएको छ ?
प्रदीप चौलागाई ः अमेरिका बिशाल देश हो । अमेरिकाको टेक्सास पनि भौगोलिक रुपमा अरु राज्य भन्दा ठूलो छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको छ । टेक्सास नेपाली समुदायको रोजाईमा पर्न थालेको छ । जनघनत्व बढ्ने क्रममा छ । मतदाता पनि अरु राज्य भन्दा बढी रहेका छन । हाी हरेक मतदाता सम्म तपुग्न सक्दैनौं । हामीले सम्भव भएसम्म टेक्सासका बिभिन्न सिटिमा पुग्ने प्रयास गरेका छौं । समुदायसँग अन्तरकृया छलफल गरि आफ्ना बिचार धारणा र प्रतिबद्धता सार्बजनिक गरिरहेका छौं । त्यसमा पनि आमीले सामाजिक सन्जाल, घण्टेश्वर अनलाईन जस्तो लोकप्रिय मिडिया, अन्य मिडिया मार्फत पनि आफ्ना धारणा, एजेण्डा मतदाता सम्म पुर्याउने प्रयास गरिरहेका छौं । टेलिफोन मार्फत पनि मतदाताहरुलाई मत माग्ने काम गरिरहेका छौं ।
घण्टेश्वर अनलाईन ः तपाईसँग मतदातालाई आकर्षित गर्ने कस्ता कस्ता एजेण्डा रहेका छन ?
प्रदीप चौलागाई ः एजेण्डा भन्नुस वा प्रतिबद्धता भन्नुस, आफु निर्बाचित भईसकेपछि गर्ने कामको प्रारम्भिक खाकाको जानकारी हुन । सबै उम्मेदवार साथीहरुका आ आफ्नै एजेण्डाहरु रहेका छन । मेरा पनि छन । मेरा एजेण्डा भनेका आम गैरआवासीय नेपाली समुदायका साझा समस्या हुन । हामीले चुनाब जित्नका लागि भन्दा पनि २ बर्षे कार्यकाल भित्र गर्न सक्ने विषयलाई उठाएका छौं । हामी भन्दा माथी राष्ट्रिय समन्वय परिषद, अन्तराष्ट्रिय समन्वय परिषद रहेका छन । हाम्रो पहुँच भन्दा माथीका सवाललाई राष्ट्रिय समन्वय परिषद, अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल र लबिङ गर्छौ भने च्याप्टरले गर्न सक्ने बिषय हामी आफैले कार्यान्वयन गछौं । हामीले निर्बाचन पछि पनि फेरी अन्तरकृया र छलफलको माध्यमबाट गर्नु पर्ने कामको वारेमा सल्लाह सुझाव माग्छौं । तर निर्बाचन पूर्बको प्रतिबद्धताहरुमा हामीले च्याप्टरलाई सँस्थागत, आर्थिक रुपमा सवल बनाउने, च्याप्टर र नेपाली समुदायका बिभिन्न सँस्थाहरु बीचमा सहकार्य र समन्वय गरि नेपाली समुदायको लागि सँगै काम गर्ने वातावरण निर्माण गर्ने, अमेरिका स्थित नेपाली दूताबाससँग समन्वय गरि घुम्ति कन्सुलर सेवा सन्चालन गर्ने, टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापनाको लागि नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँग सँयुक्त रुपमा पहल गर्ने, नेपालबाट नयाँ आएकाहरुलाई ड्राईभिङ लाईसेन्स, अपार्टमेन्ट, कामको खोजी, बिमा तथा बित्तिय साक्षरता, अमेरिकी कानूनका आधारभूत जानकारी, मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिनका लागि टास्क फोर्स बनाउने लगायतका प्रतिबद्धताहरु रहेका छन । हामी सबै कामहरु नेपाली समुदायका सँस्थाहरुसँग हातेमालो गरेर कार्यान्वयन गछौं । हामी सँस्थामा युवा सहभागिता बढाउँछौं । निर्बाचनको प्रयोजनको लागि मात्र सदस्यता बितरण गर्ने पारिपाटीको पूर्ण रुपमा अन्त गर्छौं । एनआरएनएलाई सबैको साझा बनाउने, सुदृढ, सवल बनाउने, सबै गैरआवासीय नेपाली अट्ने सँस्था बनाउने प्रयोजनको लागि सदस्य बनाउँछौं ।
घण्टेश्वर अनलाईन ः निर्बाचनको परिणाम आफ्नो पक्षमा आउछ भन्ने कुरामा तपाई कत्तिको बिश्वस्त हुनु हुन्छ ?
प्रदीप चौलागाई ः हरेक निर्बाचन लड्ने उम्मेदवारहरु चुनाव जित्ने कुरामा बिश्वस्त हुन्छन । त्यसको आधार भनेको पूर्ब तयारी हो । मैले पनि निर्बाचन लड्ने योजना बनाएर नै उम्मेदवारी दिएको हुँ । मैले पूर्ब तयारीका निर्बाचन लडेकाले निर्बाचनको परिणाम मेरो पक्षमा आउँछ भन्ने कुरामा बिश्वस्त छु । म १०० प्रतिशत आशावादी छु
घण्टेश्वर अनलाईन ः अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
प्रदीप चौलागाई ः मैले आगामी २ बर्षको समय गैरआवासीय नेपाली सँघ टेक्सास च्याप्टरलाई बलियो र सुदृढ बनाई गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सेवा गर्ने योजनाका साथ उम्मेदवार बनेको छु । म काममा बिश्वास गर्ने भएकाले कामबाट प्रमाणित गरेर देखाउन चाहान्छु । म सँग योजना छ । सँस्था हाम्रो पनि बन्न सकेन राम्रो पनि बन्न सकेन । म सँस्थालाई आम गैरआवासीय नेपालीको साझा सँस्था बनाउने, हाम्रो र राम्रो सँस्था बनाउने उद्देश्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएकाले मलाई अध्यक्ष पदमा आफ्नो अमूल्य मत दिई बिजयी गराउन हुन बिनम्र अनुरोध गर्दछु ।