नेपाली समुदायको सहभागितामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दैछौं ः राजेन्द्र वाग्ले, अध्यक्ष नेपाली समाज टेक्सास

नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पुगेको छ । यही अगष्ट महिनाको २६ तारेख शनिबारका दिन नेपाली समाज टेक्सास, व्लड डोनर्स अफ अमेरिका, सिटी अफ युलेशको व्यवस्थापन तथा ड्यालस फोर्ट वर्थ क्षेत्रमा रहेका नेपाली समुदायका सँस्थाहरुको सहभागिता, सहकार्य र सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । २५ औं स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको बृहत रक्तदान कार्यक्रमको सन्दर्भमा हामीले नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेसँग सक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ, अध्यक्ष वाग्लेसँग गरिएको कुराकानी

घण्टेश्वर अनलाईन ः अध्यक्ष ज्यू, स्वागत छ, घण्टेश्वर अनलाईनमा ।
राजेन्द्र वाग्ले ः तपाई अनि तपाईको लोकप्रिय मिडियालाई पनि धन्यवाद

घण्टेश्वर अनलाईन ः यही अगष्ट महिनाको २६ गते आयोजना हुन लागेको बृहत रक्तदान कार्यक्रमको वारेमा बताई दिनुस न ?

राजेन्द्र वाग्ले ः नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पुगेको छ । उक्त अवसरमा अगष्ट महिनाको २६ तारेख शनिबारका दिन युलेश लाईव्रेरीमा बृहत रक्तदान कार्यक्रम हुँदैछ । ड्यालस फोर्ट वर्थ क्षेत्रमा प्राय जसो हरेक महिना रक्तदान कार्यक्रम आयोजना हुने गर्दछन तर यो कार्यक्रम नेपाली समुदायले गर्न लागेको अहिले सम्मकै बृहत रक्तदान कार्यक्रम हो । यो कार्यक्रमको नेपाली समाज टेक्सास, व्लड डोनर्स अफ अमेरिका, सिटी अफ युलेशले व्यवस्थापन गर्दै छन भने टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका सम्पूर्ण सँघ सँस्थाहरुको सहभागिता, सहकार्य र सहयोग रहेको छ । टेक्सासमा रहेका नेपाली भाषामा सन्चालित मिडियाहरु पनि साझेदार छन । कार्यक्रममा सिटी अफ युलेशका पदाधिकारीहरु, अन्य अधिकारीहरु पनि सहभागि हुँदैछन । कार्यक्रमको लजिष्टिक खर्च पनि सिटी अफ युलेशले व्यवस्थापन गर्दैछ ।
घण्टेश्वर अनलाईन ः यो रक्तदान कार्यक्रममा कतिजना रक्तदाताहरु सहभागि हुने अनुमान छ ?
राजेन्द्र वाग्ले ः अमेरिकामा रक्तदान गर्नका लागि योग्य हुनु पर्छ । अर्थात तोकिएको शर्त पुरा गर्नु पर्दछ । योग्य जो कोहीले रक्तदान गर्न सक्दछन । त्यसैले हामीले १ सय ५० देखि २ सय योग्य व्यक्तिहरु रक्तदान गर्ने अनुमान गरिएको छ । कार्यक्रमको प्रचार प्रसार र तयारी व्यापक रुपमा भईरहेकाले यो सँख्या बढ्न पनि सक्छ ।
घण्टेश्वर अनलाईन ः एउटा रक्तदान कार्यक्रममा बिभिन्न सँस्थाहरुको सहभागिता गराउनुको उद्देश्य के हो ?
राजेन्द्र वाग्ले ः यो एउटा कृयाकलाप मात्र होईन । यो कार्यक्रमको नाम र महत्व पनि बृहत रहेको छ । हामी मानिसको जीवन बचाउने कार्यमा सिंगो नेपाली समुदायको तर्फबाट योगदान दिन चाहान्छौं हामी कार्यक्रमको माध्यमबाट नेपाली समुदायका बीचमा सहकार्य, भाईचाराको भावना बिकास गर्न चाहान्छौं । आपसी एकतालाई सुदृढ बनाउन चाहान्छौं । । त्यसैले हामी नेपाली समुदायका सबै सँस्थाहरु आयोजक, सहभागि भएका हौं ।

घण्टेश्वर अनलाईन ः रक्तदान भनेको के हो ?
राजेन्द्र वाग्ले ः सामान्य अर्थमा रक्तदान भनेको एकजना स्वस्थ व्यक्तिले रगत दान गर्ने भन्ने नै हो । अर्थात रक्तदान भनेको कसैको जीवन बचाउने महान कार्य हो । ‘रक्तदान, जीवनदान ’ गर्नु जस्तै हो । हामीले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्युको संकट टर्छ । नयाँ जीवन पाउँछन् । यसर्थ हामीले रक्तदान दिएपछि त्यसले अरु कुनै पीडित व्यक्तिको उपकार हुन्छ । रक्तदानः परोपकार मात्र होइन, स्वास्थ्य लाभ पनि हो । तर, हामीलाई के भ्रम हुनसक्छ भने रक्तदान दिनु भएको अरुको हितको काम गर्नु हो । रक्तदान दिइरहँदा अरुलाई त त्यसबाट लाभ मिल्न सक्छ नै, आफुलाई पनि । रगत दान दिनु भनेको हामीले कुनै हानी–नोक्सानी व्यहोर्नु हुँदै होइन । यसले हाम्रो शरीरलाई हित गर्छ ।
घण्टेश्वर अनलाईन ः रक्तदान गर्न किन आबश्यक छ ?
राजेन्द्र वाग्ले ः मिडियामा हामी दैनिक पढ्ने गर्दछौं, अहिले विश्वमा कयौ मानिस विभिन्न रोगबाट ग्रसित छन् । कयौ अस्पतालमा मानिसहरु रगत अभावमा छटपटाई रहेका छन् । प्रसव वेदना क्रममा अत्याधिक रक्तश्राव कयौ महिला अहिले छटपटाइरहेको अवस्थामा छन् । यस्तो अवस्थामा कसैले थोरै मात्र रगत पाउने हो भने मात्र पनि उसको ज्यान बच्न सक्छ । जबकी रगत पाउन केही सेकेण्डको ढिलाईले मात्र पनि मानिसको मृत्यु हुन सक्छ ।
यस अर्थमा भन्नु पर्दा रक्तदानको महत्व त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ, जसलाई जीवनमा साच्चै नै रगतको आवश्यकता पर्छ । अमेरिकन रेडक्रसका अनुसार एकपल्टको रक्तदानले तीन जनाको ज्यान बचाउन सकिन्छ । रक्तदान गरेमा समस्यामा परेको व्यक्तिलाई त फाइदा हुन्छ नै, दान दिने व्यक्ति समेत यसबाट लाभान्वित हुन्छन् । त्यो कसरी भन्दा जब हामी रक्तदान गर्छौ, हाम्रो शरीरबाट बाहिरिएको रगतको भरपाई शरीरले दुई–तीन दिन भित्रमै गरिदिन्छ । त्यतिमात्र हैन, रक्तदानले तनाव कम गर्नुका साथै, शरीरलाई स्वस्थ राख्छ ।
घण्टेश्वर अनलाईन ः रक्तदान गर्दा के फाईदा हुन्छ ?
राजेन्द्र वाग्ले ः बिभिन्न अध्ययन अनुसन्धानले रक्तदानका फाईदाको वारेमा उल्लेख गरेको पाईन्छ । विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ । त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ । सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।
यसैगरि रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ । रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तिव्र गतिमा बढ्न थाल्छ । शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ । रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ । रगतहरुमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति यूनिभर्सल डोनर हुन्, अर्थात उनीहरु जो कसैलाई आफ्नो रगत दान दिन सक्छन् । एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिने बिज्ञहरुले बिभिन्न पुस्तकहरुमा लेखेको पाउछौं ।
घण्टेश्वर अनलाईन ः कस्ता–कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
राजेन्द्र वाग्ले ः अमेरिकामा रक्तदान गर्नका लागि निश्चित योग्यता पुगेको हुनु पर्छ । तोकिएको मापदण्ड पुरा गरेका सबैले रक्तदान गर्न सक्छन । सामान्यतया १८ वर्ष माथिका तथा ६८ वर्ष उमेर समूहका कुनै पनि स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि ४५ किलो भन्दा धेरै तौल हुनु पर्छ । रगतमा हेमोग्लोविनको मात्रा १२ प्रतिशत भन्दा धेरै हुनु पर्छ । पछिल्लो तीन वर्षमा जण्डिस वा कुनै ठूलो शल्यक्रिया नगरेको ब्यक्तिले एक रक्तदाता वर्षमा कम्तीमा चार पटक तीन–तीन महिना महिनाको अन्तरालमा रक्तदान गर्न सक्दछन् । तर हाम्रो जस्तो विकसित मुलुकमा रक्तदानको महत्वबारे थाहा नहुँदा आज पनि मानिसमा रक्तदानलाई लिएर कयौ भ्रम छ । उनीहरु सोच्छन्, रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । त्यसैले, रक्तदान गर्नु हुँदैन । तर त्यसो होईन ।

Leave A Reply

Your email address will not be published.