डोटी काडामाण्डौंको बास्मती चामल बजारमा

घण्टेश्वर अनलाईन
काडामाण्डौं डोटी
डोटीको पूर्बिचौकी गाउँपालिका वडा नं. ५ काडामाण्डौको बास्मती चालम ब्यवस्थित रुपमा बजारमा आएको छ । कृषि ज्ञान केन्द्र डोटीको प्राबिधिक सहयोगमा जनकल्याण बहुउद्देश्यीय सहाकारी संस्था लिमिटेड सानागाउँले बजारमा ल्याएको हो ।
अत्यन्तै स्वादिष्ट मानिएको काडामाण्डौंको रैथाने बास्मती चामलको बजार माग बढ्न थालेपछि ब्यवस्थित रुपमा बजारमा ल्याईएको सो सहकारी सँस्थाले जनाएको छ । काडामाण्डौं क्षेत्रको पहिचान सहित बिभिन्न तौलका प्याकेट बनाएर बास्मती चालम प्रति किलो १ सय ४० का दरले बजारमा बिक्रि बितरण भईरहेको छ । रैथाने बास्मती चामलको स्वादमा कमी आउन नदिनको लागि स्थानीय कृषकहरुले धानलाई परम्परागत ओखल तथा ढिकीमा कुटेर प्रशोधन गर्ने गरेका छन । काडामाण्डौंको बास्मती चामल डोटी जिल्लामा मात्र नभएर सुदूरपश्चिम भरि नै अत्यन्तै बास्नादार र स्वादिलो चालमका रुपमा प्रसिद्ध रहेको छ ।
काडामाण्डौंको बास्मती धानको ब्यवसायिक रुपमा प्रबर्द्धन गर्नका लागि बिगत देखि नै स्थानीयले माग गरेपनि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेको थिएन । ब्यवसायिक रुपमा बास्मती धानको खेती नगरिदा न्यून मात्रामा बास्मती धानको उत्पादन हुने गरेकाले चालमको अभाव हुने गरेको काडामाण्डौंका स्थानीय बासिन्दा पत्रकार चक्र कठायत बताउछन ।
काडामाण्डौंको बास्मती चामलको बजार माग बढीरहेकाले ब्यवसायिक उत्पादन बढाउनु पर्ने स्थानीय स्तरका सरोकारवालाहरुले बताउन थालेका छन । केहि दिन अघि सानागाउँमा कृषि ज्ञान केन्द्र डोटीद्धारा आयोजना गरिएको काडामाण्डौंको बास्मती चमलको प्रबद्र्धन र बजारिकरण बिषयक कार्यक्रममा सरोकारवालाहरुले काडामाण्डौंको बास्मती चामलको प्रबर्द्धन गर्ने हो भने रैथाने बास्मती धानको मूल बिऊको सँरक्षण र बिकास गर्नु पर्ने, स्थानीय कृषकहरुलाई प्राबिधिक ज्ञान दिनु पर्ने, कृषकहरुलाई ब्यवसायिक रुपमा बास्मती धानको खेती गर्न प्रोत्साहित र आबश्यक सहयोग गर्नुपर्ने, उत्पादित चामलको ब्यवस्थित रुपमा प्याकेजिङ्ग, व्रान्डिङ्ग र लेबलिङ्ग गर्नु पर्ने र बजारिकरण गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।
पूर्बिचौकी गाउँपलिकाका अध्यक्ष दीर्घराज बोगटीले काडामाण्डौंको पूर्बिचौकी गाउँपालिकाको पहिचान भएकाले काडामाण्डौं बास्मतीको सँरक्षण, सम्बद्र्धन, र बजारिकरण गर्ने कार्य गाउँपालिकाको प्राथमिकता सूचिमा रहेको बताउछन । पछिल्लो समय कृषि ज्ञान केन्द्र डोटीले पनि काडामाण्डौंको बास्मतीको सँरक्षण, प्रबर्द्धन र बजारिकरणमा चासो देखाएको छ । केन्द्रको वार्षिक कार्यक्रममा समाबेश गरेर स्थानीय कृषकहरुलाई प्राबिधिक तथा अन्य आबश्यक सहयोग गरिरहेको कृषि ज्ञान केन्द्र डोटीका कृषि प्रसार अधिकृत दुर्गाप्रसाद ओझाले बताउनु भयो । अहिले काडामाण्डौं क्षेत्रमा करिब ८० हेक्टर जमिनमा बास्मती धानको खेती हुने गरेकोमा त्यसलाई बिस्तार गर्नको लागि पहल भईरहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । यसअघि जोरायल क्षेत्रको बास्मती चामल पनि ब्यवस्थित रुपमा बजारमा आई सकेको छ ।

Leave A Reply

Your email address will not be published.