पशुपतिनाथको मन्दिरमा पूजा आराधाना गरेर प्रवासी नेपालीहरुले मनाए महाशिवरात्रि पर्व

टेक्सासको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भीड

घण्टेश्वर अनलाईन
टेक्सास
अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले अर्भिंङमा स्थित पशुपतिनाथको मन्दिरमा आज भगवान शिवको पूजा आराधाना गरेर महाशिवरात्रि पर्व मनाएका छन । अर्भिंङकोे पशुपति नाथ तथा बुद्ध मन्दिरमा आज बिहानै देखि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको मन्दिरका पुजारीले बताएका छन । भगवान शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।
श्रद्धालु भक्तजनहरुले पूजाआजाको लागि आउँदा मास्क अनिबार्य गर्नुका साथै पालो पर्खनका लागि आग्रह गरेको छ । महाशिबरात्रिमा पशुपतिनाथको मन्दिर पुगेका चितवनका ७२ बर्षिय तिलक केसीले विदेशमा पनि भगवान शिबको पूजापाठ गर्न पाएकोमा खुशी ब्यक्त गरे ।
यसैगरि मन्दिरमा पूजापाठको लागि पुगेकी काठमाण्डौंकी ६१ बर्षिय बसुन्धरा ढकाल आफु शिबभक्त भएको र अमेरिकामा पनि पशुपतिनाथ मन्दिरमा नेपाली पूजारीबाट भगवान शिबको प्रसाद ग्रहण गर्दा आफु नेपालमा नै रहेको अनुभूति भएको प्रतिकृया दिनु भयो ।


नेपाल सांस्कृतिक आध्यात्मिक केन्द्र (एनसिएससी) जसलाई पशुपति र बुद्ध मन्दिर पनि भनिन्छ । यो नेपाल बाहिरको सबैभन्दा ठूलो नेपाली मन्दिर हो । हाल नेपाल सांस्कृतिक आध्यात्मिक केन्द्र अन्तरगत रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिर अर्भिंङमा रहेको छ । मन्दिरमा नेपाली पूजारीहरु कार्यरत छन । मन्दिरमा विवाह, बर्तबन्ध लगायत सबै कर्मकाण्डका कामहरु नेपाली पूजारीहरुबाट गरिने ब्यवस्था मिलाईएको छ । हरेक आईतबार मन्दिरमा पशुपतिनाथको बिशेष पूजापाठ र आरती हुने भएकाले काठमाण्डौंको पशुपतिनाथ मन्दिरको झल्को आउने गरेको भक्तजनहरु बताउछन ।
मन्दिरलाई सबै प्रवासी नेपालीहरुको आस्थाको केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यका साथ ड्यालस नजिक गुलेसमा नयाँ मन्दिर निर्माण सम्पन्न भईसकेको र निकट भविश्यमासर्ने क्रममा रहेको केन्द्रले जनाएको छ । सन् २००७ मा स्थापना भएको एनसिएससीले यस आस्थाका सम्पूर्ण हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई सांस्कृतिक, आध्यात्मिक र धार्मिक रुपमा एकत्रित हुन साझा स्थान प्रदान गर्ने लक्ष्य लिएको छ ।
केन्द्रले सामुदायिक सदस्यहरुलाई नेपालका विभिन्न धर्मावलम्बीबीच सामाजिक र धार्मिक बन्धन बलियो बनाउन, उनीहरुको आस्थाअनुसार पूजा र पूजा गर्न, नेपाली सांस्कृतिक सम्पदाको संरक्षण गर्न र नेपाली सांस्कृतिक मूल्य मान्यतालाई प्रवर्द्धन गर्न प्रोत्साहन गर्दछ ।
नेपाल सांस्कृतिक आध्यात्मिक केन्द्र राजमार्ग १० नजिकैको सुन्दर आठ एकड जमिनमा अवस्थित छ । नेपाल सांस्कृतिक आध्यात्मिक केन्द्रलाई ९५० संस्थापक सदस्य, १९२ जना बोर्ड अफ ट्रस्टी, ८ प्याट्रन्स र डीएफडब्लु र विश्वभरका सयौं परिवारले आर्थिक र नैतिक रूपमा समर्थन गरेका छन ।

Leave A Reply

Your email address will not be published.