घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्ब भदौ ९ (अगष्ट २५) मा मनाउने भएका छन । अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम नेपाली समाजहरुले गौरा पर्बलाई उत्सवका रुपमा मनाउन आबश्यक तयारी शुरु गरेका छन ।
अमेरिकाको परिबेश अनुसार काममा व्यस्त हुनुपर्ने भएकाले सहज रुपमा जमघट हुन सम्भव छैन । बिभिन्न चाडपर्बहरुमा जनसहभागिता जुटाउन सबैलाई पायक पर्ने गरि शनिबार वा आईतबार बिदाको दिन पर्ने गरि मनाउने गरिन्छ ।
गौरा पर्ब सुदूरपश्चिमको प्रमुख साँस्कृतिक पर्ब हो । अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले एकता, भाईचाराका साथै सँस्कृतिलाई पुस्तान्तरण गर्नका लागि महत्वका साथ मनाउँदै आएका छन । प्रवासमा सबै बिधि त पुर्याउन सकिदैन । तर सुदूरपश्चिमेलीहरु एकै स्थानमा जम्मा भएर गौरा देबीको प्रतिमा बनाएर हर्षोल्लासमा साथ गौरा पर्ब मनाउने गरिएको मेरिल्याण्डका समाजसेवी दमनबिक्रम शाहले बताए ।
अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुले अगष्ट २५ आईतबारका दिन गौरा पर्बलाई उत्सबको रुपमा मनाउने तयारी भएको छ । उक्त अबसरमा पशुपतिनाथ मन्दिर युलेशमा गौरादेबी पुजाआजा, गौरा प्रदर्शनी, डेउडा कार्यक्रम, बालो नाच, चैत, धुमारी, फाग, भुइँचम्फा, हुड्केली लगायतका नृत्यहरु प्रदर्शनी गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ । गौरा उत्सब कार्यक्रममा सहभागिताको लागि टेक्सास लगायत आसपासका राज्यमा रहेका सुदूरपश्चिमेलीहरुको सहभागिता र सुदूरपश्चिमका चर्चित कलाकारहरु नन्लकृष्ण जोशी, शंकरसिंह बिष्ट लगायतको बिशेष प्रस्तुती रहने अध्यक्ष गगन केसीले जानकारी दिनु भयो ।
यसै गरि मेरिल्याण्डको बालटिमोरमा पनि यस बर्षको गौरा पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रम रहेको सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डले जनाएको छ । यस्तै अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुले अगष्ट २५ मा न्यूयोर्कको कोरोना पार्कमा उत्सबका रुपमा गौरा पर्ब मनाउने भएका छन । उक्त अवसरमा न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरु, नेपाली समुदायका अगुवाहरुको समेत सहभागिता रहने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका महासचिब हरिदत्त जोशीले बताए ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।
विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख–सुखः बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका वासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।
गौरा पर्बको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले एक दिन सार्बजनिक बिदा दिदै आएको छ भने राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ ।