घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैर आवासिय नेपाली सँघ, अमेरिकाद्धारा गठित नेपाली पाठशाला कमिटीको चियर (अध्यक्ष) मा डोटीका भोजबहादुर बलायर नियुक्त भएका छन । अमेरिकाको बिभिन्न राज्यमा सन्चालनमा रहेका नेपाली पाठशालाहरुका लागि पाठ्यक्रम, पाठ्य सामग्री निर्माण गर्ने, ब्यवस्थापन गर्ने काममा बलायरले सँयोजन गर्नेछन ।
बिगत एकदशक देखि अमेरिकाको टेक्सास राज्यको ड्यालसमा रहेर नेपाली समुदायका वालवालिकाहरुलाई नेपालसँग जोड्नका लागि उल्लेखनिय भूमिका खेल्दै आउनु भएका बलायर यसअघि पनि नेपाली समाज टेक्सासद्धारा सँचालित नेपाली पाठशालामा पाठ्य सामग्री निर्माण गर्ने, शिक्षक, तथा सँयोजकको रुपमा समेत योगदान पुर्याउदै आउनु भएको थियो ।

नेपालीहरुको बढ्दो प्रवासी जीवन र यससंग जोडिएका भाषा, कला, संस्कृति आदीको पुस्तान्तरण सबैको साझा चुनौतीको रुपमा देखिएको छ । प्रवासमा हुर्कीरहेका नेपाली बालबालिकाहरुलाई नेपालसंग निरन्तर जोड्ने माध्यम नै भाषा भएकाले यसका लागि नेपाली पाठशालाले निकै ठूलो मद्दत पुर्याएको बलायर बताउछन ।
डोटीको शिखर नगरपालिकाका बलायर शैक्षिक पृष्ठभूमिका ब्यक्ति हुन । उनले नेपालमा लामो समय शिक्षण, विद्यालय निरिक्षक तथा जिल्ला शिक्षा अधिकारीको रुपमा भूमिका निर्बाह गरि सक्नुभएको छ । हाल शिक्षा मनोबिज्ञान बिषयमा बिद्यावारिधी गरिरहनु भएका बलायर प्रवासमा रहेरपनि नेपालीहरुका लागि शिक्षा क्षेत्रमा सेवा गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्नुहुन्छ ।

यसअघि बलायरले नेपाली पाठशालाको लागि पाठ्यक्रम तथा बिभिन्न पुस्तकहरु प्रकाशित गरिसक्नु भएको छ । आगामी दिनमा पनि थप पाठ्य सामग्री तथा पुस्तकहरु उत्पादन गरि अमेरिका वाहिरका नेपाली पाठशालाहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउने योजना रहेको बताउनुभयो । अमेरिकामा सन्चालनमा रहेका नेपाली पाठशालाहरु प्रभावकारी बन्दै गएपछि गैर आवासिय नेपाली सँघ अमेरिकाले सँस्थामा छुट्टै नेपाली पाठशाला कमिटी गठन गर्नुका साथै बलायरद्धारा प्रकाशित पुस्तकहरु आफ्नो वेवसाईटमा राखेको छ । उनले तयार गर्नु भएको पाठ्यक्रम र पुस्तकको आधारमा अमेरिकाका बिभिन्न स्थानमा रहेका नेपाली पाठशालाहरुमा पठनपाठन भईरहेको छ ।

बलायरका अनुसार नेपाली पाठशालामा मुख्यगरि नेपाली वोली भाषा, नेपाली सँस्कृति, सँस्कार, नैतिक शिक्षा, साहित्य, योग, नृत्य, नेपाली अक्षरहरु सम्बन्धि आधारभूत कक्षाहरु सँचालन भईरहेका छन । विगतका बर्षमा उक्त पाठशालाले एक हजार नेपाली बालबालिकाहरुलाई बिभिन्न बिषयहरुमा अध्ययन गराएको थियो । नेपालीद्वारा नेपाल बाहिर संचालित पाठशालाहरुमा यो पाठशाला सबैभन्दा धेरै बिद्यार्थीहरु रहेको पाठशाला हो ।टेक्सासको ड्यालसमा भौतिक रुपमा कक्षा–कोठामै संचालन हुँदै आएको यस स्कूललाई कोरोना महामारी भए सँगै अनलाईन जूम मार्फत पठनपाठन भईरहेको छ । यो माध्यमबाट अमेरिका लगायत बिभिन्न देशमा रहेका आप्रवासी नेपालीहरु लाभान्वित भईरहेको नेपाली समाज टेक्सासले जनाएकोछ ।
समग्र रुपमा गैरआवासिय नेपाली सँघ अमेरिकाले अगुवाई गरेपछि राज्यस्तरमा भने राज्य शाखा, नेपाली समाज जस्ता सँस्थाले पाठशाला सँचालन गरिरहेका छन । नेपाली समाज टेक्सासद्धारा सन्चालित नेपाली पाठशालामा प्रिन्सिपल बिजयराज भट्टराई र कोअर्डिनेटर भोजबहादुर बलायर रहनुभएको छ ।

