सेन्ट्रल टेक्सासमा नोभेम्बर ६ मा रामकृष्ण ढकालको सांगीतिक साँझ हुँदै

घण्टेश्वर अनलाइन
अस्टिन, टेक्सास

नेपालका चर्चित गायक तथा कलाकार रामकृष्ण ढकाल आगामी नोभेम्बर ६ मा अमेरिकाको टेक्सासस्थित बेल्टनमा आउने भएका छन्।

दीपावली तथा तिहारको अवसर पारेर नेपाली समाज अफ सेन्ट्रल टेक्सास (एनएससीटी) ले आयोजना गर्न लागेको विशेष सांगीतिक साँझमा ढकालले आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तथा श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्।

आयोजक संस्थाका अनुसार रामकृष्ण ढकालको विशेष सांगीतिक साँझ आगामी नोभेम्बर ६, शुक्रबारका दिन बेल्टनस्थित ला रियो म्यान्सनमा आयोजना हुनेछ। कार्यक्रममा संगीतसँगै खानपान, नृत्य तथा नेपाली परम्पराअनुसार देउसी–भैलोका कार्यक्रमसमेत समावेश गरिने जनाइएको छ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। विदेशमा रहेर पनि नेपाली चाडपर्व, कला, संगीत र संस्कृतिलाई जीवन्त राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य एनएससीटीको आपत्कालीन सहायता कोष (Emergency Support Fund) का लागि सहयोग जुटाउनु रहेको छ। कार्यक्रममार्फत संकलित रकम उक्त कोषलाई सहयोग गरिने आयोजकले जनाएको छ। यस कोषले आवश्यकतामा परेका समुदायका सदस्यहरूलाई सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकले सेन्ट्रल टेक्सास तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तिहारको खुसी साटासाट गर्न, नेपाली संगीतको आनन्द लिन तथा सामाजिक सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.