घण्टेश्वर अनलाईन
ड्यालस (टेक्सस)
“ड्यालसमा महायज्ञ किन ? पशुपतिनाथ मन्दिर बनाउन
मन्दिरै किन ? धर्म सँस्कृति जोगाउन, परदेशमा नेपाल चिनाउन”
यही अप्रिल ९ देखि शुरु हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ ( आध्यात्मिक महोत्सव) को आबश्यक तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञमा सहभागिताको लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने करिब ५ हजार बढी नेपाली समुदायलाई निमन्त्रणा पठाईएको नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले बताउनु भयो ।
अध्यक्ष सापकोटाका अनुसार अभिलेखमा रहेका ५ हजार बढी नेपालीलाई घर तथा अपार्टमेन्टमा पुगेर निमन्त्रणा दिईएका र बाँकी नेपाली समुदायलाई सार्बजनिक रुपमा महोत्सवमा सहभागिताको लागि निमन्त्रणा गरिएको छ ।
महायज्ञको लागि प्रमुख कथा बाचक दिनबन्धु पोखरेल सहित ९ जना गुरुहरु रहनु हुने छ । पण्डित दीनबन्धु पोखरेल सहित ९ जना पण्डितहरुको टोलीले हरेक दिन दिउँसो १ बजेदेखि ७ बजेसम्म कथा वाचन गर्नेछन् । बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम साँझ ८ बजे आरती पश्चात समापन हुनेछ । अप्रिल ९ तारिकमा सुरु हुने महायज्ञ १७ तारिकमा समापन हुनेछ ।
महायज्ञमा कर्ताको रुपमा सहभागिता जनाउने गरि करिब १ सय बढीले शुलक तिरिसक्नु भएको छ भने ५ सय बढीले महायज्ञको कलस खरिद गरि सक्नु भएको महायज्ञ मूल तयारी समितिले जनाएको छ ।श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ( अध्यात्मिक महोत्सब) को प्रमुख उद्देश्य ड्यालसको युलेशमा निर्माणाधिन श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको वृहद् परियोजना सम्पन्न गर्ने नै हो । त्यसका अतिरिक्त प्रवासमा नेपाली साँस्कृतिक तथा अध्यात्मिक क्षेत्रको प्रबद्र्धन गर्ने र पुस्तान्तरण गर्ने पनि हो, अध्यक्ष सापकोटाले बताईन ।