समाजसेवी स्व. हरिबोल भण्डारीको प्रथम स्मृति दिवस रक्तदान कार्यक्रम आयोजना गरी मनाइँदै

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस।

टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवी तथा व्यवसायी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवस रक्तदान कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

ड्यालस–फोर्टवर्थ क्षेत्रका युवाहरूको पहलमा आयोजना हुन लागेको रक्तदान कार्यक्रम सेप्टेम्बर २७, २०२६ (आइतबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को परिसरमा सञ्चालन हुनेछ।

रक्तदान कार्यक्रमका लागि ब्लड डोनर्स अफ अमेरिका (BDA), टेक्सस ले सहयोग तथा सहजीकरण गरेको छ भने कार्टर ब्लड केयर ले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ।

“रक्तदान जीवनदान, महादान” भन्ने नारासहित आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भई स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजकहरूले नेपाली समुदायलाई आह्वान गरेका छन्।

समाजसेवी स्वर्गीय हरिबोल भण्डारी ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायका बीच परिचित सामाजिक व्यक्तित्व थिए। विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका उनी प्रवासी नेपाली समुदायमा पनि एक सक्रिय र समाजसेवी व्यक्तित्वका रूपमा परिचित थिए । भण्डारी टेक्सससहित अमेरिकाभर हुने नेपाली समुदायका विभिन्न गतिविधिमा निरन्तर संलग्न रहँदै आएका थिए । उनको विनम्र र सहयोगी स्वभावका कारण उनी सबैमाझ लोकप्रिय थिए । गत वर्ष उनको असामयिक निधन भएको थियो।

स्वर्गीय भण्डारीको स्मृतिलाई मानवीय सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्। स्मृति दिवसको अवसरमा गरिने यस प्रकारको सेवामूलक कार्यक्रमले स्वर्गीय भण्डारीप्रतिको सम्मान व्यक्त गर्नुका साथै समुदायमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

रक्तदान गर्न इच्छुक व्यक्तिहरूले कार्यक्रममा सहभागी हुन आयोजकहरूले आग्रह गरेका छन्। एक जनाले गरेको रक्तदानले अरू कसैको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ भन्दै आयोजकहरूले अधिकतम सहभागिताका लागि नेपाली समुदायसँग अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.