नेजा स्थापना दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापनाको १७ बर्ष पुगेको छ । स्थापनाको १७ बर्ष पुगेको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाका बिभिन्न राज्यमा बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा ड्यालसको युलेशमा आईतबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रवासको पत्रकारिता र नेजाको भूमिकाको वारेमा समिक्षा गरिएको छ ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा बोेल्दै बरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार सन्जय घिमिरेले प्रवासमा रहेका नेपाली पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्ने काममा सहयोग गरेको धारणा व्यक्त गर्नु भयो ।
प्रवासमा समय व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेले नेजामा आबद्ध पत्रकारहरुले आफ्नो कलमलाई अझ परिस्कृत गर्दै पत्रकारिता क्षेत्रमा अझ बढी सकृय हुन आग्रह गर्नु भयो ।
यसैगरि नागरिक समाजका अगुवा प्रभात दिक्षितले प्रवासको व्यस्त जीवनशैलीका बीचमा समय व्यवस्थापन गरेर नेपाली भाषाको पत्रकारिता गर्नु निकै कठिन काम भएको बिचार व्यक्त गर्नु भयो । नेजाले नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरुको सीप र दक्षता अभिबृद्धि गर्न सहयोग गर्नु पर्ने दिक्षितको सल्लाह थियो । उक्त शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि पत्रकारहरुले प्रवासको पत्रकारिता र नेजाले खेल्नु पर्ने भूमिकाको वारेमा आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले स्थापना दिवसमा सबै पत्रकारहरुलाई शुभ कामना दिदै प्रवासमा नेपाली भाषाको पत्रकारिताका चुनौतीका साथै अवसर पनि रहेको बताउनु भयो । नेपालमा लामो समय पत्रकारिता गरेका र प्रवासबाट समेत कलम चलाईरहेका साथीहरु नेजामा आबद्ध भईरहेको बताउँदै प्रवासी पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा समेत सकृय हुनका लागि नेजाले बातावरण बनाई रहेको जानकारी दिनु भयो । शुभकामना आदान प्रदान कार्यक्रममा नेजाका क्षेत्रीय सँयोजक शँकर थापाले स्वागत तथा उपाध्यक्ष सुजन पण्डितले नेजाको स्थापना दिवसको वारेमा बोल्नु भएको थियो ।

नेजा स्थापना दिवसको अवसरमा शनिबार युलेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने आईतबार बेलुकी जूम अनलाईन मार्फत शुभकामना आदान प्रदान र भोली बिहान ड्यालसको अर्भिङ मा बृक्षारोपण कार्यक्रम आयोजना गर्न लागिएको नेजाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.