घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको पृथ्बी दिवसको अवसर पारी ड्यालसको अर्भिङ स्थित जेफर्सन पार्कमा सोमबार बृक्षारोपण गरिएको छ । उक्त बृक्षारोपण कार्यक्रम ड्यालस क्षेत्र वरपर रहेका ड्यालस एभरेष्ट, अरभिङ्ग एभरेष्ट सेण्टेनियल लगायतका लायन्स क्लबहरु तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा सँयुक्त रुपमा आयोजना गरिएको थियो ।
सिटी अफ अर्भिङ, किप अरभिङ्ग व्युटीफुल कार्यक्रमको विशेष सहयोगमा अर्भिङको जेफर्सन पार्कमा बिभिन्न जातका २१ वटा बिरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रमको लागि हुर्कि सकेका बिभिन्न जातका बिरुवाहरु, खाल्डो खन्ने काम, बिभिन्न औजार उपकरण लगायत व्यवस्थापनको काममा सिटी अफ अर्भिङले सहयोग उपलब्ध गराएको अरभिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लबका अध्यक्ष राजेन्द्र कुँवरले बताउनु भयो ।
बृक्षारोपण अघि सिटी अफ अर्भिङको मापदण्ड अनुसार माटो परिक्षण, पानीको व्यवस्था तथा बिरुवाको सुरक्षा जस्ता बिषयमा तयारी गरिएको आयोजकहरुले जनाएका छन ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं स्थापना दिवसको सन्दर्भ पारेर ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय नेपाली लायन्स क्लबहरुसँगको सहकार्यमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुरज भण्डारीले बताउनु भयो ।
ड्यालस एभरेष्ट लायन्स क्लब लगायत बिभिन्न नेपाली लायन्स क्लबहरुले ड्यालसका बिभिन्न क्षेत्रमा बृक्षारोपण लगायत बातावरण सँरक्षणका काम गर्दै आएको छ । ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय नेपाली लायन्स क्लबहरु मध्य ड्यालस एभरेष्ट लायन्स क्लब सबै भन्दा पुरानो क्लब हो । सिटी अफ अर्भिङले ड्यालस एभरेष्ट लायन्स क्लबले बाताबरण सँरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एप्रिल १४ लाई ड्यालस एभरेष्ट डे समेतले सम्मान गरेको छ ।




