गैरआवासीय नेपालीको माग नेपाली नागरिकताको निरन्तरता हो ः ओएनएफ अन्तराष्ट्रिय अध्यक्ष थापा

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले गैरआवासीय नेपालीको माग नेपाली नागरिकताको निरन्तरता भएको बताउनु भएको छ ।
प्रवासी नेपाली मन्च अमेरिका टेक्सास राज्य अधिबेशनको शनिबार टेक्सासको युलेशमा उद्घाटन गर्दै अध्यक्ष थापाले हालै नेपाल सरकारले नागरिकता बिधेयक मार्फत ल्याएको गैरआवासीय नेपाली नागरिकताले प्रवासीहरुका समस्या समाधान नगरि थप समस्या, झन्झट ल्याएकाले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउनु परेको बताउनु भयो ।
प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता तथा सहसचिब सब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथी थापाले प्रवास मैत्री कानून नबनेका कारण नेपालमा बिदेशी लगानी भित्रिन नसकेको दावी गर्नु भयो । प्रवासमैत्री कानून निर्माण भएमा प्रवासीहरुले स्वदेशमा बिभिन्न उद्योग व्यवसायमा लगानी गर्न सक्ने र त्यसबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने थापाको भनाई थियो ।
नेपालमा बिभिन्न बिचार तथा धर्मको नाममा नेपाली समाज बिभाजन भईरहेको प्रति चिन्ता व्यक्त गर्दै अन्तराष्ट्रिय अध्यक्ष थापाले प्रवासी नेपालीहरुलाई एकताबद्ध बनाउँदै मातृभूमिसँग जोड्न प्रवासी नेपाली समुदायका अगुवाहरुले सोच्नु पर्ने बेला आएको धारणा व्यक्त गर्नु भयो ।
यसैगरि अर्का अतिथी बक्ता प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका ईन्चार्ज प्रभुराम थापाले नेपाली समुदायको छाता सँस्था गैरआवासीय नेपाली संघ आफैमा बिभाजित बनेको र प्रवासी नेपालीहरुका समस्याहरु समाधान गर्न पहल गर्न नसकेका कारण प्रवासी नेपाली मन्चले नेतृत्वदायी भूमिका खेलिरहेको दावी गर्नु भयो ।
हामी प्रवासी नेपाली समुदायका साझा सवालहरुका पक्षमा जनमत जुटाउँदै दवाव र जागरणको अभियान सन्चालन गरिरहेका छौं । हामी प्रचार भन्दा काम गरिरहेका छौं । भुकम्प, कोरोना लगायत नेपालमा परेका बिभिन्न विपदको समयमा प्रवासी नेपाली मन्चले बिभिन्न राहातका कार्यक्रम सन्चालन गरेको ईन्चार्ज थापाले बताउनु भयो ।
उक्त कार्यक्रममा प्रवासी नेपाली मन्च अमेरिका क्षेत्रीय सँयोजक ईश्वरी भट्ट, राष्ट्रिय कमिटी उपाध्यक्ष भिम ओली, युलेश सिटी काउन्सिल सदस्य टीका पौडेल, प्रवासी नेपाली मन्च अमेरिकाका सँस्थापक तथा सल्लाहकार जनक राना, नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, गैरआवासीय नेपाली सँघ अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल, नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष सुरज भण्डारी, प्रवासी नेपाली एकता मन्चका अन्तराष्ट्रिय कमिटीका सह सँयोजक भिम कार्की लगायतका बक्ताहरुले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा आयोजक कमिटी सँयोजक राजु नेपालले स्वागत मन्तब्य दिनु भएको थियो ।
उक्त अवसरमा प्रवासी नेपाली मन्च अमेरिका टेक्सास राज्य कमिटीका पूर्ब अध्यक्ष तथा बर्तमान केन्द्रिय सदस्य मणि भण्डारी तथा अर्का सँस्थापक जनक रानालाई टेक्सास राज्य कमिटीको तर्फबाट सम्मान गरिएको थियो ।

   

Leave A Reply

Your email address will not be published.