घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
ग्रेटर अस्टिन क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका अगुवाहरुले नेपाली समुदायका बीचमा एकतालाई अझ बलियो बनाउँदै लैजानु पर्ने कुरामा जोड दिएका छन ।
ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) अस्टिनको आईतबार सम्पन्न पाँचौ अधिबेशनमा बोल्ने बक्ताहरुले नेपाली समाज बिभिन्न बहानामा बिभाजन भईरहेकाले नेपाली समाजलाई बिभाजन होईन एकताबद्ध बनाउँदै लैजानु पर्ने बताए । ग्यान्सको नयाँ नेतृत्व चयन गर्दा नेपाली समुदायमा देखिएको एकता र समझदारीले समुदायमा सकारात्मक सन्देश दिएको बताउँदै अगुवाहरुले समुदायको बृहत सहभागिता र सहयोगमा नेपाली समुदायको एकतालाई आगामी दिनमा अझ बलियो बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
पाँचौं अधिबेशनमा बोल्दै समुदायका अगुवा तथा मन्दिर संचालक समितिका संयोजक गेहेन्द्र केसीले प्रवासमा नेपालीहरुको बसोवास बढेसँगै समस्याहरु पनि बढीरहेकाले नेपाली समुदायको एकताबाट नै समस्याहरु हल गर्न सकिने बताउनु भयो । ग्यान्सको नयाँ नेतृत्व चयन गर्दा ग्रेटर अस्टिनबासीले देखाएको एकता र समझदारीको लागि केसीले धन्यवाद समेत दिनु भयो ।
यसै गरि समुदायका अगुवा देवराज न्यौपानेले साझा काममा सबैको सहभागिता नै समाज भएकाले बलियो समाजबाट नै समुदायका साझा कामहरु सफलताका साथ सम्पन्न गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
यस्तै नेपाली समुदायका अगुवा तथा गैरआवासीय नेपाली संघ अमेरिकाका आईसिसि सदस्य पदम ठकुराठीले नेपाली समुदायका बीचको बृहत एकताबाट थुप्रै रचनात्मक कामहरु गर्न सकिने बताउनु भयो । ग्रेटर अस्टिनबासी नेपाली समुदायको एकता, सहयोग र समर्थनबाट अस्टिनमा सुन्दर पशुपतिनाथ मन्दिर निर्माण लगायत अन्य सामुदायिक कामहरु सम्पन्न भएको बताउँदै समुदायका बीचको एकता र समझदारीलाई जोगाई राख्नु पर्नेमा जोड दिनु भयो । ठकुराठीले समुदायको व्यापक सहभागिता र सहयोगका कारण ४० बर्षमा सम्पन्न हुने मन्दिर निर्माण लगायतका सामुदायिक कामहरु ४ बर्षमा सम्पन्न भएको पनि दावी गर्नु भयो ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले आफु नेतृत्वबाट बाहिर रहेपनि नेपाली समुदायको एकता जोगाउन र समुदायको साझा काममा सधैं समुदायसँगै रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । ग्रेटर अस्टिनबासीको बृहत एकता र समझदारीबाट नयाँ नेतृत्व चयन भएकाले नयाँ कार्य समितिलाई बिगतमा झै सबैले सहयोग समर्थन गर्न सबैमा आग्रह गर्नु भयो ।
म ग्यान्समा स्थापनाकाल सन २०१३ देखि आबद्ध रहेको छु । सँस्थामा काम गर्दा मलाई महत्वपूर्ण उपलब्धीमा नेतृत्व गर्ने अवसर पनि प्राप्त भयो । तर यस अबधिमा सामुदायिक भवन खरिद, भवन निर्माण, तथा पशुपति नाथ मन्दिर निर्माण लगायतका महत्वपूर्ण काममा मैले नेतृत्व गरेपनि उपलब्धीको श्रेय अस्टिनबासी नेपाली समुदायलाई जाने उक्त अवसरमा अध्यक्ष भट्टले भन्नु भयो ।
कार्यक्रममा बोल्दै नव निर्बाचित अध्यक्ष बिदुर खतिवाडाले ग्रेटर अस्टिनबासी नेपाली समुदायको एकतालाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । आफु समुदायको समर्थनबाट ग्यान्सको नेतृत्वमा निर्बाचित भएको बताउँदै समाजको चाहना अनुसार अघि बढ्ने बताउनु भयो ।
उक्त कार्यक्रममा समाजका अग्रज निर्मल श्रेष्ठ, कमल अधिकारी, रामकुमार महतो, दिपक हुँमागाई, उद्धब खनाल, बोधराज घिमिरे, बन्धु पोखरेल लगायतका बक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रममा डा. प्रमोद शर्माले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रममा ग्यान्सको सांगठनिक तथा आर्थिक प्रतिबदेन महासचिब बिदुर खतिवडा र पशुपति नाथ मन्दिरको आर्थिक प्रतिबेदन ग्यान्स अध्यक्ष भोजराज भट्ट तथा साँगठनिक प्रतिबेदन मन्दिर सन्चालक समिति सह सँयोजक देबराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । ग्यान्सको पाँचौं अधिबेशनको उद्घाटन कार्यक्रममा समुदायको लागि महत्वपूर्ण योगदान दिने शेष कोईराला र बिदुर खतिवाडालाई ग्यान्स प्रेसिडिसियल अवार्डबाट सम्मानित गरिएको थियो भने अन्य २७ जनालाई टोकन अफ लभ प्रदान गरिएको थियो ।
उक्त अवसरमा ग्रेटर अस्टिन नेपाली समाज (२०२४–२०२६) को लागि निर्बाचित पदाधिकारी सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराईएको थियो । ग्यान्सको सर्बसम्मत निर्बाचित नयाँ नेतृत्वमा अध्यक्ष विदुर खतिवडा, उपाध्यक्ष निरोज मानन्धर र अशोक शाही, महासचिव विनोद दाहाल, सचिव प्रदिप चौलागाई र कोषाध्यक्ष धिरेन्द्र यादव रहेका छन । यसैगरि सदस्यहरुमा क्रमस ः आनन्द यादव, वर्खबहादुर खत्री, धर्मेन्द्र यादव, रेशमबहादुर गुरुङ, सुर्य कार्की, सपना रावत, सुजन श्री पोख्रेल, सुरज अधिकारी, इन्दिरा दाहाल, नारायण रिजाल, रमेश खड्का, तिलक भण्डारी, मिथिलेश यादव, टिकामाया गुरुङ, जगदिश पाठक रहेका छन । निर्बाचन समिति सदस्य पदम ठकुराठीको सन्चालनमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा नयाँ पदाधिकारी सदस्यहरुलाई निर्बाचन समिति सँयोजक गेहेन्द्र केसीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । सोही अवसरमा अस्टिनका सामाजिक अगुवा डा. कमल अधिकारीको सँयोजकत्वमा गठन भएको पशुपतिनाथ मन्दिर सन्चालक समितिको पनि घोषणा गरिएको थियो ।







