घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले यहि मे महिनाको २१ आईतबारका दिन नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना गर्ने भएका छन । गैरआवासिय नेपाली सँघ अमेरिका न्यूयोर्क शाखाको नेतृत्वमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली समुदायका संघ सँस्थाहरुले उक्त नेपाल महोत्सब(नेपाल डे परेड) आयोजना गर्न लागेका हुन । बिदेशमा नेपाली भाषा, कला सँस्कृतिको प्रचार प्रसार गरि नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना गर्न लागिएको आयोजकले बताएका छन । उक्त कार्यक्रमको भब्य तयारी भईरहेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली समुदायले हरेक बर्ष झैं गौरा, डेउडा, र छलिया लगायतका साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने तयारी भईरहेको समाजका अध्यक्ष दानसिं बिष्टले जानकारी दिनु भयो । सुदूरपश्चिमेली समुदाय आफ्नो छुट्टै पहिचानका साथ सहभागि हुने छन । सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन, दमाउ, सनईका साथमा सुदूरपश्चिमेली पोशाकमा गौरा, डेउडा तथा छलिया नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
नेपाल डे परेड कार्यक्रम म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड शुरू हुने आयोजकले जनाएका छन । नेपाल डे परेड कार्यक्रम नेपालीहरुको साझा कार्यक्रम भएकाले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबर्द्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिने छ ।
नेपाली समुदायले आयोजना गर्न लागेको साझा कार्यक्रममा बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरुको सहयोग र सहभागिता रहने छ । ं१९ मे आईतबारका दिन आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सहभागिताका लागि न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्बजनिक रुपमा आह्वान गरिसकिएको छ ।
नेपाल डे परेड कार्यक्रम नेपाली समुदायको महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा नेपाली समुदायका बिभिन्न बिविधता तथा प्रदर्शन गरिने बिभिन्न सामग्रीहरुले नेपाललाई थप चिनाउनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सन २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतबार नेपाली पहिचानको रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ । न्युयोर्क राज्यमा परेड कार्यक्रमका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
