टेक्सासको ड्यालसमा सुदूरपश्चिमेलीको “अर्गानिक देउसी भैलो”

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
“भनभन भाई हो, देउसिरे
जिपिएस लगाएर, देउसिरे
हामी आयौं, देउसिरे
देउसि खेल्न, देउसिरे”
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका सुदूरपश्चिमेली समुदायले यस बर्षको दिपावली पर्ब देउसी भैलो खेलेर मनाएका छन । सुदूरपश्चिम नेपाली समाज टेक्सासद्वारा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा सुदूरपश्चिमेलीहरु एकै स्थानमा जम्मा भएर देउसी भैलो खेलेका थिए ।
भौगोलिक बनावट र लामो दूरीका कारण भैली खेल्न गुगल म्याप (जिपिएस) लगाएर आउनु परेको सुदूरपश्चिमेलीहरुले भैली भट्याउदा बताएका थिए । पछिल्लो समय रेकर्ड गरिएको देउसी भैलो डिजेमा बजाएर खेल्ने गरेकोमा प्रवासी सुदूरपश्चिमेलीहरुले परापूर्बकाल देखिको र सुदूरपश्चिम क्षेत्रमा प्रचलित मौलिक देउसी भैलो भट्याएका थिए । देउसी भैलो जस्तो मौलिक सँस्कृतिमा डिजे सँस्कृति हुर्किरहेको अवस्थामा मौलिक देउसी भैलो टोली सुदूरपश्चिमेलीहरुको घर पुग्दा अग्र्यानिक देउसी भैलो भन्दै प्रशँसा गरेका थिए ।
ड्यालस फोर्टवर्थ क्षेत्रको भौगोलिक बनावट ठूलो भएका कारण २ दिनसम्म अधिकाँश सुदूरपश्चिमेलीको घरमा पुग्ने प्रयास गरिएको सुदूरपश्चिम नेपाली समाजका महासचिब गुन्जन भण्डारीले बताउनु भयो ।
अमेरिकाको व्यस्त जीवन शैलीका कारण नेपाली चाड पर्बको समय पारेर सुदूरपश्चिमेलीहरु बेलाबेलामा एकै ठाउँमा जम्मा भएर रमाईलो गर्ने गरेका छन ।
अमेरिकामा जन्मेका र यतै हुर्केका दोश्रो पुस्तालाई नेपाली सँस्कृति हस्तान्तरण गर्न र प्रवासमा नेपाली सँस्कृति जोगाउन नेपाली चाड पर्बहरुलाई व्यवस्थित रुपमा मनाउन आबश्यक रहेको टेक्सास स्थित नेपाली समुदायका अगुवाहरु बताउछन ।

Leave A Reply

Your email address will not be published.