घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासमा रहेका नेपाली समुदायलाई आपतकालीन सहयोग गर्न नेपाली समाज टेक्सासले एक राहात कोष स्थापना गर्ने भएको छ । नेपाली समाज टेक्सासको आईतबार सम्पन्न बार्षिक साधारण सभाले अक्षय कोष स्थापना गरि सन्चालनमा ल्याउने निर्णय गरेको हो ।
टेक्सासमा हरेक दिन नेपालीहरुको बसोबास बृद्धि र समुदायका समस्याहरु पनि थपिदै गएका छन । अब हरेक पटक समुदायलाई आपतकालीन सहयोग गर्न गो फण्ड मि मार्फत आर्थिक संकलन गर्ने परिपाटी अन्त्य गरेर दिगो रुपमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गर्न लागिएको अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
साधारण सभाले अक्षय कोषमा सहयोग गर्न सार्बजनिक आह्वान समेत गरेको छ । कोषको लागि ब्यक्ति तथा सँस्थाले उपलब्ध गराएको सहयोग बराबारको रकम नेपाली समाज टेक्सासले थपेर (म्याचिङ फण्ड) कोषमा जम्मा गरिने छ ।
यसअघि सवारी दुर्घटना, मानसिक समस्या, गम्भिर प्रकृतिका स्वास्थ्य समस्याहरु, दाहसँस्कार, शब नेपाल पठाउने लगायतका समस्याहरुमा नेपाली समाज टेक्सासले गो फण्ड मि मार्फत अपिल गरेर आर्थिक संकलन गर्ने काममा सहयोग गर्दै आएको थियो ।
वार्षिक साधारण सभाले समाजको लागि भौतिक सँरचना खरिद गर्ने, ग्लोबल नेपाली पाठशालालाई थप प्रभावकारी बनाउने, समुदाय चेतावनी प्रणालीको स्थापना, नेतृत्व बिकास, सवारी चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामा समेत उपलब्ध गराउन पहल गर्ने, नेपालबाट आएका विद्यार्थीहरूलाई अमेरिकी शैक्षिक प्रणालीको बारेमा जानकारी दिने सेमिनार वा वर्कशपहरू तथा करियर परामर्श तथा सहयोग गर्ने लगायतका निर्णय गरेको छ ।
साधारण सभाले नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाललाई परेको पितृ शोकमा समबेदना प्रकट गर्नुका साथै नेपाली समुदाय तथा नेपाली समाजका बिभिन्न कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा सँस्थाहरुलाई धन्यवाद समेत दिएको छ ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष जनक भण्डारीको सन्चालनमा सम्पन्न वार्षिक साधारण सभामा बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष राजेन्द्र वाग्ले तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामकृष्ण यादबले प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक साधारण सभाको प्रमुख अतिथी युलेश सिटीका मेयर लिन्डा मार्टिन र बिशिष्ट अतिथी प्रो मेयर टीका पौडेल, पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, भुवन आचार्य, रामसि पोखरेल, दिनेश शर्मा, नेपालकी चर्चित सामाजिक अभियन्ता रेनु राजभण्डारी, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा रहनु भएको थियो ।