घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकामा जिविकोपार्जनको लागि पुरुष मात्रै होईन महिला पनि व्यस्त हुने गर्दछन । बिभिन्न चाड पर्ब मनाउन तथा सार्बजनिक चासोका कार्यक्रममा सहभागि हुनका लागि पूर्ब समय तालिका बनाउनु पर्ने बाध्यता छ । यस्ता कार्यक्रमहरु आयोजकहरुले सन्दर्भ पारेर शनिबार आईतबार बिदाको दिन आयोजना गर्ने गर्दछन ।
अमेरिकाको टेक्सासमा रहेका प्रवासी नेपाली महिलाहरुलाई यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने चटारो परेको छ । टेक्सासमा रहेका नेपाली समुदायका बिभिन्न सामाजिक संस्थाहरुले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई सन्दर्भ पारेर आफुलाई पायक पर्ने दिनमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरेका छन ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाली समाज टेक्सासको महिला बिभागले दिवसको अवसरमा आगामी मार्च महिनाको ८ तारेखका दिन नेपाली मन्दिर युलेशमा महिला सशक्तिकरण, कानूनी साक्षरता तथा उत्प्रेरणादायी सम्मान कार्यक्रम आयोजना गर्दैछन् । दिवसको अवसरमा ८ मार्चका दिन दिउसो २ बजे महिला जागरण ऱ्याली र त्यसपछि महिला सशक्तिकरण र कानूनी विषयमा अन्तरकृया आयोजना गरिने कार्यक्रम तय भएको नेपाली समाज टेक्सासकी महिला बिभाग संयोजक शान्ता गिरीले बताईन ।
यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा “सबै महिला र केटीहरूको लागि ः अधिकार, समानता र सशक्तिकरण” भन्ने रहेको छ । प्रवासी नेपाली समुदायका महिलाहरुलाई महिला अधिकार, समानता र सशक्तिकरणका बारेमा आबश्यक जानकारी दिने उद्देश्यले दिवस मनाउन लागिएको नेपाली समाज टेक्सस महिला बिभागले जनाएको छ । कार्यक्रममा समाजसेवी सुनिता बस्नेत, डा. विष्णुमाया उपाध्याय, तथा कानून व्यवसायी जी. डेभिड डेविस प्रमुख बक्ताका रुपमा रहनु हुने छ । बक्ताहरुमा समाजसेवी सुनिता बस्नेतले स्व.ममता काफ्लेको घट्ना र प्रवासी नेपाली समुदायमा महिलाको बर्तमान अवस्थाको बारेमा, कानून व्यवसायी जी. डेभिड डेविसले महिला अधिकार सम्बन्धि बनेका अमेरिकी कानूनहरु र डा. बिष्णुमाया उपाध्यायले महिलाको स्वास्थ्य अवस्था(मानसिक, क्यान्सर) लगायतका बिषयमा जानकारी दिने कार्यक्रम तय भएको संयोजक गिरीले जानकारी दिनु भयो । कार्यक्रममा नेपाली समुदायमा सफल र उत्प्रेरणादायी महिलाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर यही २२ फ्रेबुअरीका दिन बिभिन्न पेशा व्यवसायमा सफल ४ जना महिला उद्यमीहरुलाई एकै स्थानमा बोलाएर अन्तरकृया कार्यक्रम गर्दैछ । हरेक महिलाको सफलता अर्काको लागि प्रेरणा बन्नु पर्दछ भन्ने उद्देश्यले अर्भिङ स्थित भेट्घाट रेष्टुरेन्टमा सफल महिला उद्यमीहरुका सफलताका कथाहरु अन्य महिलाहरुलाई जानकारी गराउन लागिएको गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरले जनाएको छ । उक्त कार्यक्रममा सफल महिला उद्यमी यमुना भट्टराई, सर्टिफाईड पेरालीगल सिर्जना शर्मा पोखरेल, सर्टिफाईड फेमली नर्स प्राक्टिशनर अनु श्रेष्ठ, र रियल स्टेट एजेन्ट तथा बीमामार्फत वित्तीय परामर्शदाता अनु तामाङ प्रमुख बक्ताका रुपमा रहेका छन ।

