घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
सुदूरपश्चिमको लोकप्रिय सांस्कृतिक पर्व गौरा पर्व अब केवल सुदूरपश्चिममै सीमित छैन, यसको महत्व राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार हुँदै गएको छ । जहाँ जहाँ सुदूरपश्चिमेली बसोबास गर्छन्, त्यहाँ–त्यहाँ गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ । यसै क्रममा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पनि यस वर्षको गौरा पर्व भव्यरूपमा सम्पन्न गरेका छन्।
यस वर्ष गौरा पर्व आईतबार परेको हुँदा अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले यसलाई उत्सवको रुपमा धुमधामका साथ मनाएका छन्। विगतका वर्षमा शनिबार वा आईतबार छुट्टीको अवसर पारेर पर्व आयोजना गर्ने परम्परा भए पनि यसपटक पर्वकै दिन विभिन्न स्थानमा विशेष कार्यक्रम गरिएको हो।
शनिबार विस्किन्सन, केन्टकी र टेक्ससको अष्टिनमा गौरा पर्व भव्यरुपमा सम्पन्न भएको छ भने आईतबार ड्यालस, मेरिल्याण्ड र न्यूयोर्कमा विशेष सांस्कृतिक कार्यक्रमका साथ पर्व मनाइएको छ।
कार्यक्रममा गौरादेवीको पूजाआजा, गौरा नचाउने, डेउडा, हुड्केउली, छलिया नृत्य लगायतका परम्परागत प्रस्तुतीहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। सांस्कृतिक विविधताले भरिपूर्ण यस अवसरमा केवल सुदूरपश्चिमेली मात्र नभई अन्य नेपाली समुदायले पनि सक्रिय सहभागिता जनाएका थिए।
गौरा पर्वको विशेष कार्यक्रमको क्रममा आयोजक समितिले सुदूरपश्चिमेलीहरूको संस्कृति, परम्परा र ऐतिहासिक महत्वबारे जानकारीसमेत दिएका थिए ।
आईतबार टेक्ससको ड्यालस (युलेश) मा आयोजना गरिएको गौरा बिशेष कार्यक्रममा डेउडा गायिका रेखा जोशी र नेपाल आईडल बिजेता रबि ओडले बिभिन्न प्रस्तुती गरेका थिए । उक्त अवसरमा सुदूरपश्चिमका परम्परागत बाजा दाईना दमाउ, भोक्कर र झ्यालीहरु प्रदर्शनी गरिएको थियो ।
गौरा पर्व सुदूरपश्चिम क्षेत्रका महिला–पुरुषले विशेष श्रद्धा र उल्लासका साथ मनाउने पर्व हो। यस पर्वमा गौरी–शंकरको पूजाअर्चना, देउडा खेल र गौराका गीत प्रमुख आकर्षणका रूपमा रहने गर्छन्। अमेरिकामा बसोबास गर्ने सुदूरपश्चिमेली नेपालीहरूले आफ्नो संस्कृति र परम्परालाई जोगाउन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न गौरा पर्वलाई महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन्।