घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ नेता हरिबोल भण्डारीको असामयिक निधन भएको छ। अमेरिकाको टेक्सस राज्यस्थित ग्रेनबरीमा रहेको आफ्नै निवासमा उनी मृत अवस्थामा फेला परेका हुन्।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय भण्डारीको निधनको कारण हालसम्म स्पष्ट भइसकेको छैन। तर, प्रारम्भिक अनुमान अनुसार, सोमबार राति नेपालका राजनीतिक घटनाक्रम टेलिभिजनमार्फत हेरेपछि तनाव उत्पन्न भएर निधन भएको हुनसक्ने बताइएको छ।
टेक्ससको अस्टिनमा रहेकी उनकी पत्नी फोन गर्दा सम्पर्क नभएपछि आफ्नी भाई बुहारीलाई घरमा पठाएकी थिईन । घरको ढोका खाल्दा भण्डारी मृत अवस्थामा फेला परेका थिए ।
घटनापछि स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी उनको शवलाई फ्युनरल होममा पठाएको छ । मृत्युको कारणबारे हालसम्म आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
नेपालमा रहँदा भण्डारीले नेपाली कांग्रेसको संगठन विस्तार र युवालाई राजनीतिमा ल्याउने अभियानमा उल्लेखनीय योगदान दिएका थिए। प्रवासमा बस्दा पनि उनी नेपाली समुदायमा विनम्र, सहयोगी र समाजसेवी व्यक्तित्वका रूपमा परिचित थिए ।
टेक्ससको ड्यालस क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भण्डारीले समाजसेवाका साथै व्यापार व्यवसाय गर्दै आएका थिए।