महावाणिज्यदूतावास ड्यालसले शुक्रबारदेखि सेवा प्रवाह शुरु गर्ने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस।
संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित नेपाल महावाणिज्यदूतावासले शुक्रबारदेखि सेवा प्रवाह प्रारम्भ गर्ने भएको छ । महावाणिज्यदूतावासका अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र मिति २०८२ असोज २४ गते (अक्टोबर १०, २०२५) देखि राहदानी आवेदन, अधिकृत वारेशनामा, कन्सुलर प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र लगायतका सेवा औपचारिक रूपमा प्रदान गरिनेछ ।
महावाणिज्यदूतावासका अनुसार भिसा र गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्रसम्बन्धी कार्यका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ । आवश्यक तयारी पूरा भएपछि ती सेवाहरू पनि सुरु गरिने मिति छुट्टै रूपमा जानकारी गराइनेछ ।
हाल महावाणिज्यदूतावासमा जडान गरिएको राहदानी आवेदन संकलन प्रणाली (ePassport Application System) परीक्षण चरणमा रहेको छ । प्रारम्भिक हप्ताहरूमा प्राविधिक समस्या आउन सक्ने सम्भावना रहेकाले सुरुवाती समयमा दैनिक सीमित संख्यामा मात्र राहदानी आवेदन खुला गरिने जनाएको छ । प्रणाली स्थिर भएपछि आवेदन कोटा आवश्यकता अनुसार क्रमशः बढाइनेछ ।
दूतावासले भनेको छ, “शुरूका केही दिनका लागि राहदानीको म्याद समाप्त भइसकेका र अत्यावश्यक कारणले नयाँ राहदानी आवश्यक परेका सेवाग्राहीले मात्र आवेदन फाराम भर्नुहुन अनुरोध गर्दछौ ।”
महावाणिज्यदूतावासका सेवासम्बन्धी जानकारी हाल यसको फेसबुक पेजमा उपलब्ध छ भने आधिकारिक वेबसाइट केही दिनभित्र सार्वजनिक गरिने र त्यहाँ विस्तृत जानकारी राखिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.