टेक्ससस्थित नेपाली महावाणिज्य दूतावासबाट तीन महिनामा १,२६० जनालाई सेवा

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले स्थापना भएको छोटो अवधिमै १ हजार २ सय ६० जना नेपालीलाई विभिन्न कन्सुलर सेवा प्रदान गरेको छ ।
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले सोमबार ड्यालसमा आयोजना गरेको स्थानीय पत्रकार तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा दूतावासले उक्त जानकारी दिएको हो ।
गत अक्टोबर १० देखि सेवा सुरु गरेको दूतावासले तीन महिनाको अवधिमा ६ सय ९२ जनालाई पासपोर्ट सेवा तथा ५ सय ६८ जनालाई मन्जुरीनामा, ट्राभल डकुमेन्ट, वारेसनामा लगायतका अन्य कन्सुलर सेवा प्रदान गरेको दूतावासका प्रवक्ता प्रविण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा प्रवक्ता भट्टराईले महावाणिज्य दूतावासले प्रदान गर्ने सेवा, सुविधा तथा प्रक्रियाबारे समेत विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत सुरेश अधिकारीले वासिङटन डिसीस्थित नेपाली राजदूतावास र महावाणिज्य दूतावासबाट प्रदान गरिने केही सेवाहरू समान देखिए पनि दुवै कार्यालयको भूमिका र क्षेत्राधिकार फरक–फरक हुने भएकाले एउटै रूपमा बुझ्न नहुने स्पष्ट पार्नुभयो । उहाँले कार्यालय समयभित्र आएका कुनै पनि सेवाग्राही सेवा नलिई फर्कनु नपर्ने गरी दूतावासले काम गरिरहेको जानकारी दिँदै आवश्यक सूचनाका लागि दूतावासको फेसबुक पेज तथा वेबसाइट अवलोकन गर्न आग्रह गर्नुभयो ।

महावाणिज्यदूत अधिकारीले ड्यालसमा महावाणिज्य दूतावास स्थापना गर्न तथा स्थापना पश्चात् पनि नेपाली समुदायबाट निरन्तर सहयोग प्राप्त भइरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै उपमहावाणिज्यदूत धना जोशी तथा हरिमाया अधिकारीले नेपाली नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न दूतावास प्रतिबद्ध रहेको जानकारी दिनुभयो । कतिपय सेवाग्राहीमा दूतावासबाट उपलब्ध सेवाहरू तथा अमेरिकामा बसोबास गर्दा पालना गर्नुपर्ने न्यूनतम कानुनी जानकारीको अभाव देखिएको उल्लेख गर्दै उहाँहरूले यस विषयमा स्थानीय नेपाली मिडिया र समुदायले सचेतना फैलाउन सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा वरिष्ठ पत्रकार हरिहर बिरहीले प्रवासमा नेपालीहरूको बसोबास उल्लेख्य रूपमा बढ्दै गएको उल्लेख गर्दै नेपाली मिडियाले सामुदायिक पत्रकारितामार्फत समुदायलाई सचेत बनाउने कार्यमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकारहरू नारायण पुरी, विनय देवकोटा, भिमसेन राजबहाक, सुनिल खड्का तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका का प्रवक्ता सन्देश उप्रेतीलगायत सहभागीहरूले महावाणिज्य दूतावासका सेवाहरूलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे नेजाका सचिव शंकर थापाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा ड्यालसका स्थानीय पत्रकारहरू तथा नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.