घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
नेपालका सुस्त मनस्थिती (अटिजम) भएका बालबालिकाको सहयोगका लागि टेक्ससको ड्यालसमा शनिबार ‘वाक फर अटिजम’ कार्यक्रम आयोजना गरिएको छ। अटिजम भएका बालबालिकाका लागि सहयोग संकलन गर्ने उद्देश्यले वान स्टेप फाउन्डेसनले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको हो।
ड्यालसको युलेसस्थित बियर क्रिक पार्कबाट सुरु भएको पाँच किलोमिटरको ‘वाक फर अटिजम’ कार्यक्रममा करिब २७० जनाको सहभागिता रहेको थियो। सहभागीहरू बियर क्रिक पार्कदेखि कोही हिँड्दै त कोही दगुरेर बब एडन पार्कसम्म पुगेका थिए र पुनः बियर क्रिक पार्कमै फर्किएका थिए।
उक्त कार्यक्रम प्रतिस्पर्धात्मक नभई अटिजमप्रति जनचेतना अभिवृद्धि तथा सहयोग संकलनमा केन्द्रित रहेको थियो। आयोजकले सहभागी सबैलाई विजेता ठहर गर्दै मेडल प्रदान गरेका थिए।
कार्यक्रममार्फत संकलित रकममध्ये एक लाख रुपैयाँ नेपालमा अटिस्टिक बालबालिकाका लागि कार्यरत जिज्ञासा फाउन्डेसनलाई शनिबार नै नेपाल पठाइएको कार्यक्रम संयोजक मनोज कटुवालले जानकारी दिए। उक्त संस्थाले नेपालको झापामा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।
