लुम्बिनी सेवा समाज अमेरिकाद्वारा शैक्षिक सामग्री वितरण

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा रूपन्देही जिल्लाको देवदह नगरपालिका–१०, चरङ्गे स्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

संस्थाद्वारा स्थापना गरिएको स्वर्गीय कमल शर्मा स्मृति अक्षय कोषको व्याज रकमबाट विपन्न तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको हो। यस वर्षको सरस्वती पूजाको अवसर पारेर ३९ हजार ३०० रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गरिएको संस्थाका अध्यक्ष युधिष्ठिर नेपालले जानकारी दिनुभएको छ।

लुम्बिनी सेवा समाज अमेरिकाले करिब तीन वर्षअघि संस्थाका तत्कालीन सल्लाहकार स्वर्गीय कमल शर्माको स्मृतिमा पाँच लाख रुपैयाँको कमल शर्मा स्मृति अक्षय कोष स्थापना गरेको थियो। उक्त अक्षय कोष देवदह नगरपालिका–१०, चरङ्गे स्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि स्थापना गरिएको हो।

विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार परियार प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा लुम्बिनी सेवा समाज अमेरिकाको तर्फबाट समन्वयकर्ता समाजसेवी मदन पौडेल, समाजका पूर्व सल्लाहकार तथा नेपाल प्रतिनिधि दीपक प्रधान, जोश जुम्बा क्लब समूहका प्रतिनिधिहरू, विद्यालयका शिक्षक–शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लुम्बिनी सेवा समाज अमेरिकाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समाजसेवाका क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Leave A Reply

Your email address will not be published.