टेक्ससको ड्यालसमा महाशिवरात्री भव्य रूपमा मनाइँदै
घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
यस वर्षको महाशिवरात्रि पर्व टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले धार्मिक महोत्सवका रूपमा मनाउने भएका छन्।
यहाँको साझा संस्था नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यस वर्षको महाशिवरात्रि पर्व आगामी फेब्रुअरी १४ र १५ तारिखका दिन महोत्सवका रूपमा मनाइने जनाउँदै कार्यक्रम तालिका सार्वजनिक गरेको छ। केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार दुई दिनसम्म विविध धार्मिक अनुष्ठान, रुद्राभिषेक, भजन–कीर्तन तथा पूजाआराधनाका कार्यक्रमहरू आयोजना गरिनेछन्।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले विगत केही वर्षदेखि महाशिवरात्रि पर्वलाई महोत्सवका रूपमा मनाउँदै आएको छ। धार्मिक कार्यक्रममार्फत नेपाली संस्कृतिको पुस्तान्तरण गर्ने तथा समुदायबीच आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको केन्द्रले जनाएको छ।
यसैगरी, युलेसमा निर्माण हुन लागेको पशुपतिनाथ तथा बौद्ध विहार मन्दिरका लागि स्रोत संकलन गर्ने उद्देश्यसमेत राखिएको आयोजकले स्पष्ट पारेको छ।
केन्द्रले सार्वजनिक गरेको महोत्सवका कार्यक्रमअन्तर्गत विशेष पूजा, सामूहिक आरती, सांस्कृतिक प्रस्तुति तथा प्रसाद वितरणका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिएको छ। आयोजकले ड्यालस–फोर्टवर्थ क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी भई धार्मिक पुण्यलाभ लिन आग्रह गरेको छ।
फेब्रुअरी १४ (शनिबार) का कार्यक्रमहरू यसप्रकार रहेका छन्:
शनिबार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म विशेष पूजा–आराधना, ग्रहशान्ति, भूमिपूजा, अग्निस्थापना, होम, एकावृत्ति रुद्री तथा नरिवल बलि कार्यक्रम सञ्चालन गरिनेछ।
बिहान ११:०० देखि १२:०० बजेसम्म भजन–कीर्तन आयोजना हुनेछ भने दिउँसो १२:३० बजे व्यानर उद्घाटन तथा पूर्णाहुति कार्यक्रम सम्पन्न गरिनेछ। साँझ ५:०० बजेदेखि शिवरात्री पूजाको तयारी गरिने जनाइएको छ।
आइतबार बिहान ९:०० बजेदेखि महाशिवरात्री विशेष पूजा तथा सामूहिक रुद्राभिषेक सुरु हुनेछ। परिवारसहित सहभागी हुन चाहने भक्तजनका लागि रु. ५१ सेवा शुल्क तोकिएको छ।
त्यसैगरी बिहान ९:०० बजेदेखि साँझ ८:०० बजेसम्म सामूहिक अर्चना तथा महाअभिषेक (श्री पशुपतिनाथमा जल तथा दूध अर्पण) कार्यक्रम सञ्चालन गरिनेछ। विशेष रुद्राक्षसहितको रुद्राभिषेकका लागि रु. १०१ सेवा शुल्क निर्धारण गरिएको छ।
बिहान ११:०० बजे श्रृंगार अलंकार प्रथम चरण १०८ अर्चना, द्वितीय प्रहर पूजा १०८ अर्चना, शिवअष्टोत्तरशत अर्चना तथा तृतीय/चतुर्थ चरण पूजा–अर्चना क्रमशः सञ्चालन गरिनेछ। साँझ ७:०० बजे ओमकार आरती तथा १०८ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ।
राति ९:०० बजे महाशिवरात्री महोत्सव समापन गरिनेछ। कार्यक्रम अवधिभर दानपुण्यका लागि दान डेस्क नियमित रूपमा खुला रहने आयोजकले जनाएको छ।
