घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना भएको १९ वर्ष पूरा भएको छ। यसै सन्दर्भमा नेजाले अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी टेक्ससको ड्यालसमा १९औँ स्थापना दिवस मनाउँदैछ।
स्थापना दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उत्तर अमेरिकामा नेपाली पत्रकारिता, नेपाली समुदाय तथा नेपालमा लगानीका सम्भावनाका विषयमा केन्द्रित रहेर बृहत् संवाद कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष सुरज भण्डारीले बताउनुभयो।
अध्यक्ष भण्डारीका अनुसार स्थापना दिवसको अवसरमा अप्रिल १८ शनिबारका दिन बृहत् संवाद कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा नेपाली दूतावास तथा महावाणिज्य दूतावासका अधिकारीहरू, अमेरिकामा सक्रिय नेपाली पत्रकारहरू, टेक्ससबाट प्रकाशित तथा प्रसारित अमेरिकी मिडियाका सम्पादकहरू, अमेरिकी मूलधारको राजनीतिमा सक्रिय तथा सिटी र राज्य तहमा निर्वाचित जनप्रतिनिधिहरू र नेपाली समुदायका अगुवाहरूको सहभागिता रहनेछ।
बृहत् संवाद कार्यक्रममा उत्तर अमेरिकामा नेपाली पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौतीहरू, पत्रकारहरूको क्षमता अभिवृद्धि, तथा सामुदायिक पत्रकारितामार्फत समुदाय सशक्तीकरण लगायतका विषयमा संवाद हुनेछ। कार्यक्रममा टेक्ससबाट प्रकाशित तथा प्रसारित हुने अमेरिकी मिडियाका प्रतिनिधिहरूले आफ्नो अनुभव सुनाउनेछन्। साथै, अमेरिकी मूलधारको राजनीतिमा आबद्ध भई सिटी तथा राज्य तहका विभिन्न नेतृत्वमा रहेका नेपाली मूलका जनप्रतिनिधिहरूले पनि नेपाली मिडिया तथा नेपाली समुदायबीचको सम्बन्धबारे आफ्ना धारणा राख्नेछन्।
यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गत अप्रिल १९ आइतबार बिहान युलेशस्थित नेपाली मन्दिरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछ। दिउँसो इर्भिङमा “नेपालमा लगानीका सम्भावना” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सहकार्यमा आयोजना हुनेछ। कार्यक्रममा टेक्ससका विभिन्न क्षेत्रमा कार्यरत व्यवसायीहरूको सहभागिता रहनेछ।
कार्यक्रममार्फत नेपाली व्यवसायीहरूलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेजाले जनाएको छ।


