घण्टेश्वर अनलाइन
हासलेट, टेक्सस
अमेरिकाको टेक्सस राज्यका विभिन्न क्षेत्रमा पछिल्लो समय नेपालीहरूको बसोबास उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको देखिन्छ। यहाँका धेरैजसो बस्तीहरूमा नेपाली परिवारहरूको बसोबास फैलिँदै गएको छ।
यस्ता बस्तीहरूमध्ये हासलेटस्थित ब्रिज भ्यू कम्युनिटी पनि एक हो, जहाँ बसोबास गर्ने नेपालीहरूले आपसी एकता र सामुदायिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेषगरी अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली चाडपर्व, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले नियमित रूपमा सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिँदै आएको छ।
ब्रिज भ्यू नेपाली कम्युनिटीका अगुवा उत्सव अर्यालका अनुसार समुदायलाई एकताबद्ध बनाउँदै होली, नयाँ वर्ष, दीपावली तथा बनभोज जस्ता कार्यक्रमहरू आयोजना गर्दै आइएको छ। “अमेरिकामा सबैजना आफ्नो काममा व्यस्त रहने भएकाले छिमेकीसँग भेटघाट गर्न पनि समय मिलाउनुपर्ने अवस्था हुन्छ। यस्ता कार्यक्रमहरूले एकआपसमा भेटघाट, अनुभव साटासाट र रमाइलो गर्ने अवसर प्रदान गर्छ,” उनले बताए।
यसै सन्दर्भमा नेपाली नयाँ वर्षको अवसर पारेर ब्रिज भ्यू नेपाली कम्युनिटीको आयोजनामा शनिबार सामूहिक बनभोज कार्यक्रम सम्पन्न गरिएको छ। हासलेटबाट करिब ४० माइल टाढा अवस्थित लेक ब्रिजपोर्टस्थित Wise County Park मा आयोजित उक्त पिकनिक कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिका साथै बालबालिकाहरूका लागि खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। सहभागीहरूले आपसी भेटघाट, शुभकामना आदानप्रदान र मनोरञ्जनका माध्यमबाट नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरेका थिए।