एनएसटी र सिटी अफ फोर्टवर्थबीच सांस्कृतिक क्षेत्रमा सहकार्य गर्ने सहमति

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

अमेरिकाको टेक्सस राज्यस्थित सिटी अफ फोर्टवर्थले नेपाली समुदायसँग सांस्कृतिक क्षेत्रमा सहकार्य गर्ने चासो देखाएको छ । नेपाली समुदायको उल्लेख्य बसोबास रहेको फोर्टवर्थ क्षेत्रलाई अझ बहुसांस्कृतिक र विविधतायुक्त शहर बनाउने उद्देश्यसहित सिटी अफ फोर्टवर्थले नेपाली समुदायसँग विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न सहमति जनाएको हो ।

सोही सन्दर्भमा सिटी अफ फोर्टवर्थ र नेपाली समुदायको नेतृत्वदायी संस्था नेपाली समाज टेक्सस (एनएसटी) बीच बुधबार एक औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

दुवै पक्षबीच भएको सहमतिअनुसार नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व होलीलाई संयुक्त रूपमा भव्य उत्सवका रूपमा मनाइने भएको छ । साथै विभिन्न जनचेतनामूलक सामुदायिक परेड, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिहरू पनि संयुक्त रूपमा आयोजना गरिनेछन् ।

यस सहकार्यअन्तर्गत सिटी अफ फोर्टवर्थले पार्क, कार्यक्रम स्थल तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउँदै फोर्टवर्थमा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक पहिचान, एकता तथा सम्पदालाई अझ सशक्त बनाउन सहयोग गर्ने सहमति भएको नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले बताए ।

अध्यक्ष भुसालका अनुसार यस सहकार्यले नेपाली कला, संस्कृति र परम्परालाई अमेरिकी मूलधारसँग अझ नजिक ल्याउने विश्वास गरिएको छ ।

सहमति हस्ताक्षर समारोहमा नेपाली समाज टेक्ससको तर्फबाट अध्यक्ष विजय भुसाल, पूर्व अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव प्रवेश श्रेष्ठ तथा सिटी अफ फोर्टवर्थका तर्फबाट मेयर म्याटी पार्कर, काउन्सिल सदस्य डेबोरा पिपुल्स तथा नगर मानव सम्बन्ध आयुक्त ओजेश उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.