स्वर्गीय बुवाको स्मृतिमा ड्यालसमा रक्तदान कार्यक्रम

समाजसेवी गोविन्द गौतमले हरेक बर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने, दिवंगत अभिभावकको सम्झनामा रक्तदान गर्न सबैलाई आग्रह

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

ड्यालस फोर्टवर्थ क्षेत्रमा सक्रिय युवा समाजसेवी गोविन्द गौतमले आफ्ना स्वर्गीय बुवा चूडामणि गौतमको स्मृतिमा आइतबार टेक्ससको युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) परिसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

ब्लड डोनर्स अफ अमेरिका टेक्ससको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

ब्लड डोनर्स अफ अमेरिका–टेक्ससका अध्यक्ष सन्तोष कार्कीका अनुसार कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ।

स्वर्गीय चूडामणि गौतम चितवनमा समाजसेवामा सक्रिय तथा सामाजिक कार्यमा समर्पित व्यक्तित्वका रूपमा परिचित थिए। उहाँको ६७ वर्षको उमेरमा गत वर्ष टेक्ससको ड्यालसमा निधन भएको थियो।

कार्यक्रमका आयोजक गोविन्द गौतमले आफ्ना बुवाको स्मृतिलाई समाजसेवासँग जोड्दै हरेक वर्ष जुलाई महिनामा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दिवंगत अभिभावकको सम्झनामा गरिने सबैभन्दा ठूलो सम्मान समाजलाई प्रत्यक्ष लाभ पुग्ने कार्य भएको उल्लेख गर्दै रक्तदानजस्तो मानवीय अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे।

विभिन्न सामाजिक संघसंस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आए पनि कुनै व्यक्तिले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा यस्तो कार्यक्रम आयोजना गरेको सम्भवतः यो पहिलो उदाहरण भएको सहभागीहरूले बताएका छन्। यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै दिवंगत अभिभावकप्रति सम्मान व्यक्त गर्ने प्रेरणादायी अभ्यासको सुरुवात गरेको उनीहरूको भनाइ थियो।

ब्लड डोनर्स अफ अमेरिका टेक्ससका अध्यक्ष सन्तोष कार्कीले अमेरिकी समाजमा रगतको अभाव हुन नदिन नेपाली समुदायले उल्लेखनीय योगदान दिँदै आएको उल्लेख गर्दै समाजसेवी गोविन्द गौतमजस्तै सामाजिक उत्तरदायित्व बोकेका रचनात्मक कार्यक्रमहरू आयोजना गर्न सबैलाई आह्वान गरे।

कार्यक्रममा सहभागीहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै यस्ता मानवीय अभियानले नेपाली समुदायमा सामाजिक उत्तरदायित्व, सेवाभाव र आपसी सहकार्यको संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.