अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासबाट २ हजार ७ सय ६९ नेपाली लाभान्वित

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा रहेको नेपाली महावाणिज्यदूतावासबाट हालसम्म २ हजार ७ सय ६९ जना नेपाली तथा अन्य सेवाग्राही लाभान्वित भएका छन् ।
महावाणिज्यदूतावास स्थापना भएदेखि वि.सं. २०८३ असार मसान्तसम्मको तथ्यांकअनुसार कार्यालयले २ हजार १ सय १५ वटा विद्युतीय राहदानी, ३२ वटा एकतर्फी यात्रा अनुमतिपत्र, १ सय ३३ वटा अधिकारपत्र (वारेशनामा) प्रमाणीकरण, ३ सय १५ वटा नेपाल प्रवेश भिसा, ४७ वटा गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र, २० वटा नेपाली नागरिकता परित्यागसम्बन्धी सेवा तथा १ सय १० वटा विभिन्न कन्सुलर कागजात प्रमाणीकरण गरी सेवा प्रदान गरेको छ ।
उक्त अवधिमा सेवा शुल्कस्वरूप अमेरिकी डलर ४ लाख ५ हजार २ सय ७९ दशमलव ५० राजस्व संकलन भएको वाणिज्यदूत देवदूत ढकालले जानकारी दिनुभयो ।
वाणिज्यदूत ढकालका अनुसार दूताबासका सेवाहरुलाई प्रभावकारी र थप गुणस्तरीय बनाउनका लागि कार्यालयबाट प्रदान गरिने सेवाका अतिरिक्त भौगौलिक रुपमा टाढा रहेका राज्यहरुमा घुम्ती शिबिर पनि सन्चालन गरिएको छ ।
नेपाल सरकारले वि.सं. २०८१ पुस २६ गते सान फ्रान्सिस्कोमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने निर्णय गरेको थियो। त्यसअनुसार वि.सं. २०८२ असार १७ गते महावाणिज्यदूतावास औपचारिक रूपमा स्थापना भएको हो। अमेरिकी सरकारबाट आवश्यक स्वीकृति प्राप्त भएपछि वि.सं. २०८२ असोज ६ गते (सेप्टेम्बर २२, २०२५) देखि राहदानी तथा कन्सुलर सेवा औपचारिक रूपमा सुरु गरिएको थियो।
महावाणिज्यदूतावासको कार्यक्षेत्रमा अमेरिकाको पश्चिमी क्षेत्रका ११ राज्यहरु क्यालिफोर्निया, एरिजोना, नेभाडा, युटा, वायोमिङ, आइडाहो, ओरेगन, मोन्टाना, वासिङ्टन, अलास्का र हवाई—पर्छन् । ती राज्यमा बसोबास गर्ने नेपाली नागरिकलाई राहदानी, भिसा, कन्सुलर प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्रलगायतका सेवा उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ।
अमेरिकाको पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपालीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन सान फ्रान्सिस्कोमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो। महावाणिज्यदूतावास सञ्चालनमा आएपछि पश्चिमी क्षेत्रमा रहेका नेपालीले हजारौं किलोमिटर टाढा रहेको वासिङ्टन डिसीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै समुदायले त्यसको स्वागत गरेका थिए।
तर नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससहित केही विदेशस्थित नेपाली नियोग बन्द गर्ने घोषणा गरेपछि पश्चिमी अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय चिन्तित बनेको छ।
स्थानीय समाजसेवी कमल साउँदका अनुसार महावाणिज्यदूतावास बन्द भए नियमित राहदानी तथा कन्सुलर सेवामात्र होइन, समस्यामा परेका नेपाली नागरिकको उद्धार, बेपत्ता नेपाली विद्यार्थीको खोजतलास, मृत्यु भएका नेपाली नागरिकको पार्थिव शरीर नेपाल पठाउन आवश्यक सहजीकरण तथा अन्य आपत्कालीन कन्सुलर सेवासमेत प्रभावित हुनेछन् । त्यसैले नेपाल सरकारले उक्त निर्णय पुनर्विचार गरी संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

क्यालिफोर्नियास्थित विभिन्न नेपाली संघ–संस्थाले पनि महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल सरकारसमक्ष आग्रह गर्दै आवश्यक पैरवी तथा समन्वय गरिरहेको बताएका छन् ।
यद्यपि, नेपाल सरकारले बजेट वक्तव्यमार्फत सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससहित केही नियोग बन्द गर्ने घोषणा गरे पनि त्यससम्बन्धी औपचारिक निर्णय वा कार्यान्वयनबारे परराष्ट्र मन्त्रालयबाट कुनै आधिकारिक सूचना प्राप्त नभएकाले महावाणिज्यदूतावासका सबै सेवा नियमित रूपमा सञ्चालन भइरहेको वाणिज्यदूत देवदूत ढकालले जानकारी दिनुभयो।

 

Leave A Reply

Your email address will not be published.