घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायबीच लोकप्रिय बनेको चौधरी फार्मले आफ्नो सेवा टेक्ससको राजधानी अस्टिनसम्म विस्तार गरेको छ। अस्टिन र आसपासका क्षेत्रमा बढ्दो नेपाली समुदायलाई लक्षित गर्दै फार्मले नयाँ शाखामार्फत सेवा सुरु गरेको हो।
फार्मका सन्चालक मध्यका एक अनिल पाण्डेका अनुसार अस्टिन क्षेत्रमा लामो समयदेखि नेपाली समुदायबाट सेवा विस्तारको माग हुँदै आएको थियो। त्यही आवश्यकतालाई मध्यनजर गर्दै अस्टिनमा शाखा स्थापना गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार ड्यालस–फोर्टवर्थ क्षेत्रमा जस्तै अस्टिनमा पनि ताजा खसीको मासु, कुखुराको मासु, अण्डा तथा अन्य कृषि उत्पादन गुणस्तरीय र सहुलियत मूल्यमा उपलब्ध गराइनेछ। यसबाट अस्टिन क्षेत्रका नेपालीहरूले ताजा नेपाली स्वादका खाद्य सामग्रीका लागि लामो दूरी तय गरेर ड्यालस आउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
फार्मको नयाँ शाखा 7035 CR-211, Florence, Texas 76527 मा सञ्चालनमा आएको छ। औपचारिक सेवा सुरु हुनुअघि बुधबार आयोजित ‘Meet and Greet’ तथा स्वागत कार्यक्रममा नेपाली समुदायका व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले फार्मको अवलोकन गर्नुका साथै उपलब्ध गराइने सेवा र उत्पादनबारे जानकारी लिएका थिए। अस्टिन क्षेत्रमा ताजा खसी तथा कुखुराको मासु, अण्डा र अन्य कृषि उत्पादन सहज रूपमा उपलब्ध हुने भएपछि स्थानीय नेपाली समुदायले खुसी व्यक्त गरेका थिए।
व्यवसायी बिक्रम चौधरीले सन् २०२० मा स्थापना गर्नु भएको चौधरी फार्मले २०२२ देखि ड्यालस–फोर्टवर्थ क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल फार्मले अब अस्टिन क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरेर ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
सञ्चालक पाण्डेले आगामी दिनमा ग्राहकको आवश्यकता र मागअनुसार थप कृषि तथा पशुपालनसम्बन्धी उत्पादन तथा सेवाहरू समेत विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो।
चौधरी फार्मले बिहीबारदेखि अस्टिन शाखाबाट औपचारिक रूपमा सेवा सुरु गर्ने जनाएको छ। नयाँ शाखा सञ्चालनसँगै टेक्ससमा नेपाली समुदायको उद्यमशीलता र व्यवसाय विस्तारले थप गति लिएको स्थानीय समुदायको विश्वास छ।