नेपाली जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रराज कार्कीको उम्मेदवारी घोषणा

घण्टेश्वर अनलाइन
डलास, टेक्सस

टेक्ससको डलास–फोर्टवर्थ निवासी नेपाली समुदायका अगुवा ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

डलासको युलेसस्थित मन्त्र रेस्टुरेन्टमा सोमबार आयोजित कार्यक्रममा कार्कीले आगामी अगस्ट १४, १५ र १६ तारिख भर्जिनियामा आयोजना हुने नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए।

नेपालमा मजदुर नेताका रूपमा पहिचान बनाएका कार्कीले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।

उनका प्रतिबद्धतामा सशक्त संगठन निर्माण, आर्थिक पारदर्शिता र मितव्ययिता, समावेशी प्रतिनिधित्व, नेतृत्वमा अवसरको न्यायोचित वितरण, अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता वृद्धि, नेपाली कांग्रेससँग बौद्धिक तथा प्राविधिक सम्बन्ध विस्तार, सहमति–सहकार्य र संस्थागत विकास तथा प्रवासी नेपालीको सुखदुःखको साथीका रूपमा नेपाली जनसम्पर्क समितिलाई स्थापित गर्ने विषय रहेका छन्।

उम्मेदवारी घोषणा गर्दै कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकालाई नेपाली डायस्पोराको सुखदुःखको साथी बनाउँदै लोकप्रिय, सशक्त र प्रभावकारी संगठनका रूपमा विकास गर्न आफूले भूमिका निर्वाह गर्ने बताए।

लोकतन्त्रमा आस्था र विश्वास राख्ने प्रवासी नेपालीहरूको साझा संस्था नेपाली जनसम्पर्क समितिको महाधिवेशन तथा नयाँ नेतृत्व चयन १२ वर्षमा नभई विधानअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा पनि कार्कीले जोड दिए।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई संगठनसँग जोड्दै सदस्यता विस्तार, च्याप्टरहरूको सुदृढीकरण तथा नेपाली समुदायका साझा सरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

कार्कीले संगठनलाई समयानुकूल र प्रभावकारी बनाउन सहमति, सहकार्य, पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकतामा राख्ने बताए। प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूको भावना र अपेक्षालाई सम्बोधन गर्दै संगठनलाई थप गतिशील बनाउन आवश्यक सुधार तथा नयाँ कार्यक्रम अघि बढाउने उनको भनाइ छ।

अन्य पदमा पनि उम्मेदवारी घोषणा

कार्कीको उम्मेदवारी घोषणा कार्यक्रममा सचिव पदका उम्मेदवार अर्जुन बम, कोषाध्यक्ष पदका उम्मेदवार बीपी मैनाली तथा उपाध्यक्ष पदका उम्मेदवार सन्तोष बिष्ट, खेम बास्तोला र रोशन ढुंगानाले समेत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

को हुन् ज्ञानेन्द्रराज कार्की ?

टेक्ससको डलास–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्दै आएका ज्ञानेन्द्रराज कार्की मजदुर नेता तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। लामो समय ट्रेड युनियन आन्दोलनमा आबद्ध रहेका कार्कीले मजदुरहरूको हकहितका पक्षमा आवाज उठाउँदै आएका छन्।

दोलखा पुर्ख्यौली घर भएका कार्कीको काठमाडौंको कोटेश्वरमा समेत बसोबास रहेको छ। कृषि विकास बैंकमा कार्यरत रहँदा उनले नेपाल वित्तीय संस्था कर्मचारी संघको केन्द्रीय महासचिव तथा अध्यक्षका रूपमा काम गरेका थिए। नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय रहँदै उनले मजदुर अधिकारका विभिन्न विषयमा भूमिका निर्वाह गरेका छन्।

वि.सं. २०६२/६३ को जनआन्दोलनमा समेत कार्कीले सक्रिय भूमिका निर्वाह गरेका थिए।

करिब दुई दशकअघि अमेरिका आएका कार्कीले अमेरिकामा समेत नेपाली समुदाय तथा सामाजिक संस्थामार्फत आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्। अमेरिकाको मिचिगन राज्यमा बस्दा उनी त्यहाँको पहिलो नेपाली संस्था नेपालीज एसोसिएसन अफ मिचिगनका संस्थापक महासचिवका रूपमा कार्यरत थिए।

कार्की सन २००८  देखि नेपाली जनसम्पर्क समितिमा आबद्ध रहेको बताइएको छ। उनी लगातार तीन कार्यकाल केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन्। साथै, सन् २०१४ मा डलासमा सम्पन्न नेपाली जनसम्पर्क समिति अमेरिकाको ऐतिहासिक एकता महाधिवेशन पनि कार्कीकै नेतृत्वमा सम्पन्न भएको थियो।

उनी नेपाली जनसम्पर्क समिति अमेरिका, डलास–फोर्टवर्थ च्याप्टरका निवर्तमान सभापति पनि हुन्। विगतमा नेपाली जनसम्पर्क समितिका गतिविधि तुलनात्मक रूपमा न्यून रहेका बेला कार्कीको नेतृत्वमा डलास–फोर्टवर्थ च्याप्टरले विभिन्न गतिविधिलाई तीव्रता दिएको बताइएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन तयारी समितिमा समेत कार्की सदस्यका रूपमा रहेका छन्।

लामो समयदेखि ट्रेड युनियन, नेपाली जनसम्पर्क समिति तथा नेपाली समुदायका विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कार्कीको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीलाई उनको संगठनात्मक तथा नेतृत्व अनुभवसँग जोडेर हेरिएको छ।

Leave A Reply

Your email address will not be published.