लुम्बिनी सेवा समाज अमेरिकाको छैटौँ साधारणसभा सम्पन्न

घण्टेश्वर अनलाइन
युलेश, टेक्सस

अमेरिकामा रहेका लुम्बिनीबासीहरूको साझा संस्था लुम्बिनी सेवा समाज अमेरिकाको छैटौँ वार्षिक साधारणसभा आइतबार टेक्ससको युलेशमा सम्पन्न भएको छ।

युलेशस्थित मन्त्र रेस्टुरेन्टमा आयोजित साधारणसभामा अध्यक्ष युधिष्ठिर नेपालले प्रस्तुत गर्नुभएको संस्थाको नीतिगत तथा भावी योजनासम्बन्धी प्रतिवेदन, सचिव दीपक भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेश ज्ञवालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको समाजले जनाएको छ।

अध्यक्ष युधिष्ठिर नेपालको अध्यक्षता तथा सचिव दीपक भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले प्रवासमा नेपाली भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धनमा लुम्बिनी सेवा समाज अमेरिकाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले ड्यालस–फोर्टवर्थ क्षेत्रमा लुम्बिनी सेवा समाज अमेरिकाले उत्कृष्ट पहिचान बनाउन सफल भएको बताए। उनले नेपाली भजन, पञ्चेबाजा तथा मौलिक कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमार्फत समाजले प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे।

ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायका करिब एक सयभन्दा बढी सामाजिक संघसंस्था सक्रिय रहेको बताउँदै अध्यक्ष भुसालले सामाजिक सेवासँगै नेपाली भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धनमा पनि संघसंस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए। उनले विभिन्न नेपाली संघसंस्थाबीचको सम्बन्ध र सहकार्यलाई अझ विस्तार गर्दै समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

“हाम्रा कार्यक्रमहरू दोस्रो पुस्ताका नेपालीलाई पनि नेपाल, नेपाली भाषा, संस्कृति र मौलिक परम्परासँग जोड्ने खालका हुनुपर्छ,” भुसालले भने।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. प्रेम अधिकारी, केन्द्रका उपाध्यक्ष छवि चापागाईं, लुम्बिनी सेवा समाज अमेरिकाका संस्थापक अध्यक्ष जगदीशप्रसाद न्यौपाने, मगर संघ टेक्ससका अध्यक्ष भीम थापा, तामाङ समाज टेक्ससका अध्यक्ष कुमार तामाङ तथा एभरेस्ट फेडरल क्रेडिट युनियनका संस्थापक अध्यक्ष मोहन ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभाका अवसरमा संस्थाको सदस्यता विस्तारमा योगदान पुर्‍याउने सदस्यहरू तथा हालै नयाँ आजीवन सदस्यता प्राप्त गरेका सदस्यहरूलाई सम्मान तथा स्वागत गरिएको थियो। साथै, नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आएको पञ्चेबाजा वाद्यवादकहरूको टोलीलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको सुरुवातमा समाजकी उपाध्यक्ष सरिता शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। साधारणसभामा समाजका पदाधिकारी, सदस्य तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.