घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
सुदूरपश्चिमेलीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौरा नजिकिएसँगै स्वदेशदेखि विदेशसम्म रहेका सुदूरपश्चिमेलीहरू पर्वको तयारीमा जुटेका छन्। यस वर्ष गौरा पर्व भदौ १९ गते अर्थात् सेप्टेम्बर ४ मा परेको छ। पर्व नजिकिएसँगै अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली समुदायलाई गौरा पर्वको चटारो परेको छ।
आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा रहेका स्थानीय सुदूरपश्चिम नेपाली समाजहरूले सामूहिक रूपमा गौरा पर्व मनाउने तयारी थालेका छन्। छरिएर रहेका सुदूरपश्चिमेलीहरूलाई एकै थलोमा भेला गराएर गौरा देवीको पूजाआजा, बिरुडा प्रसाद, देउडा, गौरा नचाउने तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
गौरा पर्वलाई प्रवासमा रहेका सुदूरपश्चिमेलीहरूबीच आपसी भेटघाट, सद्भाव र सांस्कृतिक एकताको अवसरका रूपमा समेत लिइँदै आएको छ। वर्षभरि आ–आफ्नो काममा व्यस्त रहने सुदूरपश्चिमेलीहरू गौरा पर्वका अवसरमा एकै स्थानमा भेला भएर सुख दुःख साटासाट गर्ने, देउडा खेल्ने तथा मातृभूमिको सम्झना गर्ने गर्छन्।
अमेरिकाको टेक्ससमा सेप्टेम्बर ५ र ६ मा गौरा पर्व
सुदूरपश्चिमेलीहरूको बाक्लो बसोबास रहेको टेक्ससमा यस वर्ष गौरा पर्व विशेष उत्साहका साथ मनाउने तयारी भइरहेको छ। सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजनामा यस वर्षको गौरा पर्व भव्य रूपमा मनाउने तयारी भइरहेको समाजका महासचिव गुञ्जन भण्डारीले बताइन्। यस बर्षको गौरा पर्ब पात्रे अनुसार सेप्टेम्बर ४ मा परेपनि नेपाली समुदाय काममा व्यस्त रहने भएकाले बिदेशमा शनिबार आईतबार बिदाको दिन पारेर चाड पर्ब मनाउने प्रचलन रहि आएको छ ।
समाजका अनुसार अस्टिनमा सेप्टेम्बर ५ र ड्यालसमा सेप्टेम्बर ६ मा गौरा पर्व मनाइनेछ। गौरा पर्वका अवसरमा अस्टिन र ड्यालसमा रहेका पशुपतिनाथ मन्दिरमा गौरा देवीको पूजाआजा, गौरा नचाउने, देउडा खेल, हुड्केली नाच लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्।
यस वर्षको गौरा पर्वमा अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका सुदूरपश्चिमका चर्चित कलाकार चाँदनी मल्ल र शंकरसिंह बिष्टले विभिन्न सांस्कृतिक प्रस्तुति दिने कार्यक्रमसमेत तय भएको छ।
सुदूरपश्चिमको पहिचानसँग जोडिएको पर्व
गौरा पर्व सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। गौरा पर्वमा गौरा महेश्वरको पूजाआजा गर्नुका साथै देउडा, चैत, धमारी, हुड्केलीलगायतका मौलिक सांस्कृतिक गतिविधि गरिन्छन्।
गौरा पर्व स्वदेशमा मात्रै नभई विदेशमा रहेका सुदूरपश्चिमेलीहरूलाई समेत एकताबद्ध गर्ने महत्वपूर्ण माध्यम बन्दै गएको छ। प्रवासमा रहेका सुदूरपश्चिमेलीहरू गौरा पर्वका अवसरमा एकै स्थानमा भेला भएर आफ्ना मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन्।
ड्यालसमा यस वर्षको गौरा पर्वको संयोजन गरिरहेकी दीपा बोहरा ऐरका अनुसार, प्रवासमा गौरा पर्वको महत्व पछिल्लो समय अझ बढ्दै गएको छ।
“अन्य समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुन्छौँ। गौरा पर्वका अवसरमा सबैजना एकै स्थानमा भेला भएर देउडा खेल्दै मातृभूमिको सम्झना गर्ने, सुख–दुःख साटासाट गर्ने अवसर प्राप्त हुन्छ,” उनले भनिन्।
उनका अनुसार, गौरा पर्वले नयाँ पुस्तालाई समेत सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने अवसर
अमेरिकामा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई सुदूरपश्चिमको मौलिक संस्कृति, भाषा, परम्परा र पर्वसँग परिचित गराउने उद्देश्यले पनि गौरा पर्वका कार्यक्रमलाई विशेष महत्व दिइएको छ।
प्रवासमा रहेका सुदूरपश्चिमेलीहरूले हरेक वर्ष सामूहिक रूपमा गौरा पर्व मनाउँदै आएपछि अमेरिकामा पनि यो पर्व सुदूरपश्चिमको संस्कृति र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम बन्दै गएको छ।
गौरा पर्वले हजारौँ माइल टाढा रहेका सुदूरपश्चिमेलीहरूलाई एउटै सांस्कृतिक भावनामा जोड्दै मातृभूमि, मौलिक संस्कृति र समुदायसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै आएको छ।

