घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकाको टेक्ससमा बसोबास गर्ने नेपाली समुदाय नेपालमा आइपरेको विपद्का समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग जुटाउन सक्रिय भएका छन्।
टेक्ससका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आफ्नो आर्थिक क्षमताअनुसार नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गरिरहेका छन्। नेपाल सरकारले अमेरिकी डलरमा समेत कार्डमार्फत सहयोग गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेका नेपालीलाई राहत कोषमा सहयोग गर्न थप सहज भएको सहयोगदाताहरूले बताएका छन्।
कतिपय नेपालीहरूले क्यूआर कोड तथा डिजिटल माध्यमबाट सिधै राहत कोषमा रकम पठाइरहेका छन् भने ठूला सहयोगदाता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा पुगेर आफूले गरेको सहयोगबारे जानकारी गराइरहेका छन्।
महावाणिज्यदूतावासमा पुगेर सहयोगको प्रमाणसहित जानकारी गराउने सहयोगदाताहरूको विवरण दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ड्यालसस्थित आईस्टेप फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनका प्रेम शाहीसहितको टोलीले दूतावासमा पुगेर आफूहरूले गरेको सहयोगबारे जानकारी गराएको थियो।
त्यस्तै, लामा फाउन्डेसनले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । फाउन्डेसनका पासाङ लामासहितको टोलीले दूतावासमा पुगेर उक्त सहयोगबारे जानकारी गराएको दूतावासले जनाएको छ ।
ड्यालसमा नेपाली युवाहरूको सक्रियतामा स्थापित सामाजिक संस्था वान स्टेप फाउन्डेसनले पनि राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाका प्रमुख बाल जोशीको नेतृत्वमा गएको टोलीले सहयोग रकमबारे दूतावासलाई जानकारी गराएको जनाइएको छ। यस्तै नुवाकोट पिकनिक ग्रुपले पनि रु १५ लाख सहयोग गरेको जानकारी नेपाली महाबाणिज्य दूताबासलाई गराएको छ ।
यसैबीच, नेपाली समाज टेक्ससले पनि नेपालमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख अमेरिकी डलर सहयोग जुटाउने उद्देश्यले ‘गो फन्ड मी’ अभियान सञ्चालन गरेको छ।
अभियानमार्फत सहयोग रकम जुटाउन नेपाली समाज टेक्ससका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा परिचालित भएका छन्। अभियानमा टेक्ससका विभिन्न सहरमा रहेका नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
‘नेपाली समुदायको सहयोग अभियान उत्साहपूर्ण’ः नेपाल दूताबास
नेपालस्थित नेपाली दूतावासले भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अमेरिकामा रहेका नेपाली समुदायबाट भइरहेको सहयोगलाई उत्साहपूर्ण भनेको छ।
दूतावासले सार्बजनिक सन्देश जारी गर्दै नेपाली समुदायले सञ्चालन गरिरहेको सहयोग अभियानप्रति धन्यवाद व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा समुदायलाई सहयोग गर्न निरन्तर साथ र समर्थनका लागि अपिलसमेत गरेको छ।
दूतावासले यस कठिन समयमा नेपाली समुदायको निरन्तर समर्थन, एकता र मानवीय भावनाले विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
‘यो कठिन समयमा तपाईंहरूको उदारता, एकता र प्रतिबद्धताप्रति फेरि एकपटक हाम्रो हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ,’ दूतावासले भनेको छ।
‘दूतावासमा जानकारी गराउनेको विवरण मात्र सार्वजनिक गरेका छौँ’ ः नेपाली महावाणिज्यदूतावास ड्यालस
नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत धना जोशीले टेक्सस तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले विपद्को समयमा उत्साहपूर्वक सहयोग गरिरहेको बताउनुभयो।
उहाँका अनुसार दूतावासमा पुगेर सहयोगको प्रमाणसहित जानकारी गराउने सहयोगदाताहरूको विवरण मात्र दूतावासले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।
दूतावासमा प्रत्यक्ष रूपमा नआएर पनि विभिन्न माध्यमबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिरहेका नेपालीहरूको संख्या उल्लेख्य रहेको जानकारी आफूहरूले प्राप्त गरिरहेको उपमहावाणिज्यदूत जोशीले बताउनुभयो।
नेपालमा प्राकृतिक विपद्का बेला विदेशमा रहेका नेपाली समुदायले स्वतःस्फूर्त रूपमा आर्थिक तथा मानवीय सहयोग जुटाउँदै आउनुले मातृभूमिप्रतिको अपनत्व र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ। टेक्ससमा पछिल्लो समय देखिएको सहयोग अभियानले विपद्मा परेका नेपाली नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
