घण्टेश्वर अनलाइन
युलेस, टेक्सस ।
नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाली समाज टेक्ससले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सोमबार युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको परिसरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने वृद्धवृद्धादेखि बालबालिकासम्म सहभागी भएका थिए। उनीहरूले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। सहभागीहरूले मृतक तथा बेपत्ताहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरेका थिए।
नेपाल–चीन सीमा क्षेत्रमा आएको पहिरो तथा त्यसपछि हिमताल फुट्दा आएको भीषण बाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताइएको छ। बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाहरू प्रभावित भएका छन्।
श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा नेपाली समुदायका अगुवाहरूले प्राकृतिक विपद्का कारण पीडित बनेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। उनीहरूले विपद् प्रभावितहरूको राहत, पुनःस्थापना तथा दीर्घकालीन सहयोगका लागि प्रवासी नेपाली समुदाय निरन्तर सहकार्य, सहयोग र पैरवी गर्न प्रतिबद्ध रहेको बताए।
उनीहरूले विपद्को यस कठिन घडीमा नेपाल र नेपाली जनताको पीडालाई आफ्नो पीडा सम्झेर देश विदेशमा रहेका नेपाली समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपाली तथा अमेरिकी मिडियामा आबद्ध पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

