दिवंगत पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेजाको अभियान, एक सातामै ५ हजार डलर संकलन
घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस।
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार स्व. बसन्तप्रकाश उपाध्यायको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सहयोग अभियान सुरु गरेको छ ।
उपाध्यायको ५८ वर्षको उमेरमा भएको असामयिक निधनपछि आर्थिक संकटमा परेको उहाँको परिवारलाई राहत पु¥याउन करिब २० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित GoFundMe अभियान सञ्चालन गरिएको नेजाका महासचिव ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
अभियान सुरु भएको एक सातामै ५ हजार अमेरिकी डलरभन्दा बढी सहयोग संकलन भइसकेको उहाँले बताउनुभयो। भानु नगरपालिका, तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका तथा अमेरिकामा रहनुभएका उपाध्यायका आफन्तहरूको अनुरोधमा नेजाले सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
स्व. उपाध्यायको परिवारमा ९४ वर्षीय वृद्ध पिताजी, गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत श्रीमती तथा उच्च शिक्षाको सुरुवाती चरणमा रहेका एक छोरा र एक छोरी छन्। परिवारको मुख्य आर्थिक आधार नै गुमेपछि दैनिक जीवनयापन, स्वास्थ्य उपचार तथा छोराछोरीको शिक्षालाई निरन्तरता दिन कठिनाइ भइरहेको जनाइएको छ।
वृद्ध पिताजीको नियमित हेरचाह, श्रीमतीको उपचार तथा छोराछोरीको शिक्षा र भविष्य सुनिश्चित गर्ने जिम्मेवारी अहिले परिवारका लागि चुनौतीपूर्ण बनेको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै परिवारलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सुरु गरिएको नेजाले जनाएको छ।
नेजाले स्व. पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न इच्छुक व्यक्ति, आफन्त, साथीभाइ तथा नेपाली समुदायका सदस्यहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न अपिल गरेको छ।
साथै, अभियानलाई सामाजिक सञ्जालमार्फत प्रचार गरी सहयोग जुटाउन पनि संघले आग्रह गरेको छ।
स्व. बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न इच्छुक व्यक्तिहरूले तलको GoFundMe लिंकमार्फत आर्थिक सहयोग गर्न सक्ने नेजाले जनाएको छ।