नेपालको विकास र समृद्धिका लागि प्रवासी नेपालीको ज्ञान, सीप र लगानी आवश्यक छ : कांग्रेस नेता डा. रावल
घण्टेश्वर अनलाइन
बाल्टिमोर, मेरिल्याण्ड ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री डा. राणबहादुर रावलले प्रवासमा रहेका नेपालीलाई आर्थिक लगानीसँगै आफ्नो ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको विकासमा उपयोग गर्न आग्रह गरेका छन् ।
सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्डले आइतबार बाल्टिमोरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता रावलले प्रवासी नेपाली नेपालको महत्वपूर्ण राष्ट्रिय पूँजी भएको बताए । प्रवासी नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्न सके मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रवासी नेपालीले खुला दिलले गरेको सहयोगको प्रशंसा गर्दै नेता रावलले विपद्का समयमा नेपाली समुदायले देखाएको मानवीय भावना र सहयोग प्रशंसनीय रहेको बताए ।
उनले प्रवासमा रहेका नेपालीलाई नेपालसँगको सम्बन्ध अझ बलियो बनाउन आग्रह गर्दै आफ्ना छोराछोरीलाई नेपाली भाषा, कला, संस्कृति, संस्कार तथा मौलिक परम्परासँग जोड्नुपर्नेमा जोड दिए ।
“विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई मातृभूमिसँग जोडिराख्न भाषा, संस्कृति र परम्पराको संरक्षण आवश्यक छ,” उनले भने, “बालबालिकालाई नेपाली भाषा सिकाउने, सामुदायिक गतिविधिमा सहभागी गराउने र नेपालप्रति अपनत्वको भावना विकास गर्ने वातावरण बनाउनुपर्छ ।”
सुदूरपश्चिम भाषा, कला र संस्कृतिले समृद्ध क्षेत्र भएको उल्लेख गर्दै नेता रावलले प्रवासमा सामूहिक रूपमा मनाइने चाडपर्व तथा सांस्कृतिक कार्यक्रममार्फत दोस्रो पुस्तामा मौलिक नेपाली संस्कृति हस्तान्तरण गर्नुपर्ने बताए ।
कम्तीमा प्रत्येक नेपालीले आफूले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायसँग कुनै न कुनै रूपमा सम्बन्ध कायम राख्न सके मातृभूमिसँगको सम्बन्ध अझ दिगो बनाउन सहयोग पुग्ने धारणा पनि उनले व्यक्त गरे ।
पछिल्लो समय नेपाल तथा विदेशमा सामाजिक सञ्जालमार्फत गालीगलौज र नकारात्मक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेता रावलले सामाजिक सञ्जाललाई सामाजिक रूपान्तरण, सकारात्मक सोच तथा नेपालको विकास र समृद्धिका लागि उपयोग गर्नुपर्ने बताए ।
सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्डका अध्यक्ष यज्ञबहादुर रानाको अध्यक्षता तथा सचिव हंसराज भाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्वअवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ कलाकार प्रेमराजा महत, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष जितेन गुरुङ, वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापालगायत नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्ड र बानाका तर्फबाट नेता रावललाई छुट्टाछुट्टै स्वागत गरिएको थियो ।
यसैगरी, नेपाली जनसम्पर्क समिति, मेरिल्याण्डले पनि नेता रावलको सम्मानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता रावलले नेपालको समसामयिक राजनीतिक घटनाक्रम तथा प्रवासमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।
बदलिँदो विश्व भूराजनीतिक परिस्थितिका कारण नेपालसामु थप चुनौतीहरू सिर्जना भएको उल्लेख गर्दै नेता रावलले ती चुनौतीको सामना गर्न देशभित्र र प्रवासमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव गौतम दाहाल, वरिष्ठ पत्रकार तरुण पौडेललगायत नेपाली जनसम्पर्क समिति, मेरिल्याण्डका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

