ग्लोबल नेपाली पाठशालाका विद्यार्थीले यस वर्ष पनि देउसी–भैलो खेल्ने

घण्टेश्वर अनलाइन
युलेस, टेक्सास

नेपाली समाज टेक्सासद्वारा सञ्चालित ग्लोबल नेपाली पाठशालाका विद्यार्थीहरूले यस वर्ष पनि तिहारको अवसरमा सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएका छन्। नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सासको युलेसमा आगामी नोभेम्बर ८ तारिख आइतबार देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको पाठशालाले जनाएको छ।

दीपावली नेपालीहरूको प्रमुख चाडपर्वमध्ये एक हो। अमेरिकामा जन्मिएका र हुर्किएका नेपाली बालबालिकालाई आफ्नो भाषा, कला, संस्कृति र चाडपर्वसँग परिचित गराउने उद्देश्यले पाठशालाले विगतदेखि नै तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्दै आएको छ।

यस वर्षको देउसी–भैलो कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। उनको प्रस्तुतिले नेपाली बालबालिका तथा अभिभावकलाई थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम नोभेम्बर ८ तारिख आइतबार बिहान १० बजेदेखि दिउँसो १२:३० बजेसम्म १२१२ रोयल पार्कवे, युलेस, टेक्सासमा सञ्चालन हुनेछ।

कार्यक्रममा पाठशालाका विद्यार्थीहरूले नेपाली मौलिक भेषभूषामा सजिएर देउसी–भैलो प्रस्तुत गर्नेछन्। यसले अमेरिकामा हुर्किरहेको नयाँ पुस्तालाई तिहारको सांस्कृतिक महत्त्व र देउसी–भैलोको मौलिक परम्पराबारे बुझ्न र अनुभव गर्न अवसर प्रदान गर्ने नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसालले बताए।

उनका अनुसार यस्ता कार्यक्रमले नेपाली बालबालिकालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाली समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नसमेत सहयोग पुग्नेछ।

यसैबीच, तिहारका कारण नोभेम्बर ७ शनिबार र नोभेम्बर ८ आइतबार पाठशालाको नियमित कक्षा सञ्चालन नहुने जानकारी पनि पाठशालाले गराएको छ।

पाठशालाले नेपाली समुदायका अभिभावक, विद्यार्थी तथा सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवमा साथ दिन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.