टेक्सासको ड्यालसमा गैरआवासीय नेपाली नागरिकताको चर्चा

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
पछिल्लो समय चर्चामा रहेको गैरआवासीय नेपाली नागरिकताको बिषयमा टेक्सासको ड्यालसमा छलफल गरिएको छ । गैरआवासीय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा शनिबार अर्भिङमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा नेपाली समुदायका अगुवाहरुले गैरआवासीय नेपाली नागरिकताको वारेमा प्रवासी नेपाली समुदाय स्तरमा जानकारीको अभाव रहेकाले सरोकारवालाले स्पष्ट जानकारी दिनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब गौरीराज जोशीले गैरआवासीय नेपालीहरुको लामो संघर्ष पश्चात गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी अधिकार प्राप्त भएको बताउदै गैरआवासीय नेपाली नागरिकताको वारेमा समुदाय स्तरमा व्यापक छलफल गरि जानकारी प्रवाह गर्नु पर्ने बताउनु भयो ।
गैरआवासीय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईंको अध्यक्षता तथा अनु तामाङ्गको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल सरकारले उपलब्ध गराउने गैरआवासीय नेपाली नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानूनी प्रकृया, अवसर र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा एनआरएनए/आईसिसिका गैरआवासीय नेपाली नागरिकताका सम्पर्क व्यक्ति सरोज दाहालले गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा बिद्यमान ऐन कानून, गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न आबश्यक पर्ने प्रकृयाको वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका करिब ४० जना नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको उक्त अन्तरकृया कार्यक्रममा सहभागिहरुले राख्नु भएका गैरआवासीय नेपाली नागरिकता सम्बन्धि बिभिन्न जिज्ञासाको सहजकर्ता दाहालले जवाफ दिनु भएको थियो
कसरी प्राप्त गर्न सकिन्छ गैरआवासीय नेपाली नागरिकता ?
गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन ईच्छुक गैरआवासीय नेपाली नागरिकले विदेशकै राजदूतावास वा महावाणिज्य दूतावास मार्फत आबेदन दिन सक्ने कानूनी व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० बमोजिम गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नु पर्दछ ।
गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पठाउन पर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकबाट सनाखत गराउनु पर्दछ ।
यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्नेछ ।प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।
गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नु अघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानून मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनु पर्ने व्यवस्था रहेको छ ।

फोटो ः रिपोटर्स क्लब अमेरिका

   

Leave A Reply

Your email address will not be published.