नेपाली जनसम्पर्क समिति अमेरिकामा नयाँ नेतृत्वका लागि दौडधुप शुरु

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन हुने निश्चित भएपछि नयाँ नेतृत्वका लागि राजनीतिक दौडधुप तीव्र भएको छ । १२ वर्षपछि हुन लागेको अधिवेशनसँगै संगठनभित्र नेता कार्यकर्ताहरुमा उत्साह संगै नेतृत्व चयनको सरगर्मी बढेको हो विभिन्न पदका आकांक्षीहरूले आन्तरिक भेटघाट, परामर्श तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म सभापति पदका लागि अधिवेशन तयारी समितिका सदस्य सचिव गौतम दाहाल, मुनिन्द्र नैम्बाङ, सीपी पौडेल र ज्ञानेन्द्र कार्की प्रमुख आकांक्षीका रूपमा चर्चामा छन् । त्यसैगरी महासचिव पदका लागि अनुप खनालले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने अन्य पदका लागि पनि इच्छुक नेताहरूले तयारीलाई तीव्र बनाएका छन्।
यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टको नेतृत्वमा रहेको कार्यसमितिले गत डिसेम्बरमा अमेरिकाभरका २६ वटा च्याप्टरको अधिवेशन सम्पन्न गरी अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो । त्यसपछि केन्द्रीय अधिवेशनको तयारी भइरहेका बेला नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार जनसम्पर्क समितिका गतिविधि स्थगित गरी नेपालमा सम्पन्न आम निर्वाचनमा केन्द्रित गरिएको थियो।
यसै क्रममा अध्यक्ष आनन्द विष्ट नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि नेपाली कांग्रेस केन्द्रीय समितिले उपाध्यक्ष धनञ्जय नरसिंह केसीको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरेको थियो।
अधिवेशन तयारी समितिका सदस्य सचिव गौतम दाहालका अनुसार अधिवेशनमा अमेरिकाभरका २६ वटा च्याप्टरबाट करिब ८०० प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति तथा विनोद भट्टको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। त्यसैगरी आर्थिक, प्रचार प्रसार, व्यवस्थापन, स्वयंसेवक, सांस्कृतिकलगायत विभिन्न उपसमितिहरूले पनि आफ्नो जिम्मेवारीअनुसार तयारीका कामलाई तीव्र रूपमा अघि बढाइरहेको तयारी समितिले जनाएको छ।
१२ वर्षपछि हुन लागेको यस अधिवेशनप्रति नेता तथा कार्यकर्ताबीच विशेष उत्साह देखिएको छ। लामो समयदेखि रोकिएको अधिवेशनले विगतका तिक्तता अन्त्य गर्दै संगठनभित्र व्यापक एकता, सहकार्यकौ वातावरण निर्माण गर्न नेता कार्यकर्ताहरुलै दवाव दिन थालैका छन ।
अधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन आगामी अगस्ट १४, १५ र १६, २०२६ मा अमेरिकाको डीसी मेट्रो क्षेत्रमा आयोजना गर्ने निर्णय गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.