टेक्ससको आस्टिनमा श्रावण महोत्सवको तयारी, चारै सोमबार विशेष पूजा र महाआरती हुने

घण्टेश्वर अनलाईन
आस्टिन, टेक्सास
टेक्सस राज्यको राजधानी आस्टिन नजिकैको हट्टो स्थित श्री पशुपतिनाथ तथा बौद्ध मन्दिरमा यस वर्षको श्रावण धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ । ग्रेटर आस्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजनामा हुन लागेको धार्मिक उत्सब अन्तरगत श्रावण महिनाका चारै सोमबार भगवान् शिवको विशेष पूजा, रुद्राभिषेक तथा नेपालस्थित श्री पशुपतिनाथ मन्दिरकै परम्पराअनुसार महाआरती गरिने भएको छ ।
ग्यान्सका वरिष्ठ उपाध्यक्ष अशोक शाहीका अनुसार श्रावण महोत्सवअन्तर्गत प्रत्येक सोमबार बिहानदेखि भगवान् शिवको विशेष पूजाआजा, रुद्राभिषेक तथा अभिषेक सञ्चालन गरिनेछ भने बेलुकी तीन जना पुजारीद्वारा पशुपतिनाथ शैलीमा विशेष महाआरती गरिने कार्यक्रम तय गरिएको छ । महाआरती सम्पन्न भएपछि सहभागी सम्पूर्ण भक्तजनलाई महाप्रसाद वितरण गरिने छ ।
आयोजकका अनुसार प्रवासमा नेपाली धर्म, संस्कृति तथा आध्यात्मिक परम्पराको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ श्रावण महिनाका चारै सोमबारलाई धार्मिक उत्सवका रूपमा मनाउन लागिएको हो । कार्यक्रममा टेक्ससभरि तथा आसपासका विभिन्न राज्यबाट उल्लेखनीय संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
हिन्दू धर्ममा साउन (श्रावण) महिना भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी साउनका सोमबार भगवान् शिवको पूजा–आराधनाका लागि शुभ र फलदायी मानिने भएकाले यस दिन व्रत बस्ने, शिवलिङ्गमा जलाभिषेक गर्ने, रुद्राभिषेक गर्ने तथा विशेष पूजा गर्ने परम्परा रहिआएको छ ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विष भगवान् शिवले पान गरी संसारलाई विनाशबाट जोगाएका थिए । विषको प्रभाव कम गर्न देवताहरूले शिवलाई जल अर्पण गरेका थिए भन्ने विश्वासका आधारमा साउनभर शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र फूल चढाउने परम्परा विकसित भएको मानिन्छ ।
सोमबार भगवान् शिवको दिन मानिने भएकाले साउन महिनाका सोमबारको धार्मिक महत्व अझ विशेष रहेको विश्वास गरिन्छ । यस दिन व्रत बसेर शिवको पूजा गर्दा मनोकामना पूरा हुने, पारिवारिक सुख–समृद्धि, स्वास्थ्य, शान्ति तथा आध्यात्मिक उन्नति प्राप्त हुने धार्मिक आस्था छ । अविवाहित महिलाले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै र विवाहित महिलाले दाम्पत्य सुख तथा पतिको दीर्घायुको कामना गर्दै साउन सोमबारको व्रत बस्ने परम्परा पनि व्यापक छ ।
नेपालको श्री पशुपतिनाथ मन्दिरको झल्को दिने शैलीमा निर्माण गरिएको हट्टोस्थित श्री पशुपतिनाथ तथा बौद्ध मन्दिर पछिल्ला वर्षहरूमा टेक्सससहित अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली तथा अन्य हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
ग्यान्सले श्रावण महोत्सवमा सहभागी भई भगवान् शिवको विशेष पूजा, रुद्राभिषेक, महाआरती तथा सामूहिक दर्शनमा सरिक हुन टेक्सस तथा आसपासका राज्यहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा हिन्दू समुदायलाई हार्दिक आह्वान समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.