घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा उम्मेदवार बन्न पाउनु पर्ने निर्माण ब्यवसायीहरुले माग गरेका छन ।
निर्माण ब्यवसायीहरुको सँगठन नेपाल निर्माण व्यवसायी महासंघले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै ठेकेदारहरुले चुनाब लड्न नपाईने निर्बाचन आयोगको निर्णय प्रति आपत्ति समेत जनाएको छ ।
महासँघका महासचिब रोशन दहालद्धारा जारी बिज्ञप्ती अनुसार नेपालको संविधानमै राजनीतिक दल खोल्ने स्वतन्त्रता रहेको र आयोगको निर्णय संवैधानिक एवम् मौलिक हक विपरीत भएकाले सो व्यवस्था सच्याउन समेत महासंघले माग गरिएको छ ।
आयोगको निर्णयले नेपालको सँबिधानद्धारा सुनिश्चित गरिएका राजनीतिक स्वतन्त्रता सम्बन्धि सँबैधानिक एबँ मौलिक हक, पेशा व्यवसाय गर्न पाउने मौलिक हक तथा निर्बाचनमा भाग लिन पाउने नेपाली नागरिकहरुको आधारभूत सँबैधानिक हक एबँ मौलिक हकको ठाडो उल्लँघन गरेकाले सँबैधानिक ब्यवस्थाको सम्मान र परीपालना गर्न निर्बाचन आयोग समक्ष महासँघले आग्रह समेत गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो । आयोगले बुधबार एक निर्णय गर्दै स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र संलग्न भएको व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।