घण्टेश्वर अनलाईन
काठमाण्डौं
पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाए पछि लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको हो ।
नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ भने यता, डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ।
लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ।
निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ । मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।
यता, एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ।