Prem

मादक पदार्थ सेवन गरेर मतदानस्थल प्रबेश गर्न नपाईने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
यही बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह निर्बाचनमा मादक पदार्थ सेवन गरेर मतदानस्थलमा जान नपाइने भएको छ ।
निर्बाचन आयोगले स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएपनि प्रवेश गर्न नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
यसैगरि मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनैपनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनैवस्तु लैजान नपाइने समेत आयोगले जनाएको छ । आयोगले यस्ता कार्य भए गरेमा कानुन बमोजिम कारबाही हुने आयोगका प्रबक्ता सहसचिब शालिग्राम पौडेलले बिज्ञप्ती मार्फत जानकारी दिनु भएको छ ।
मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवँ दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ ।
आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्नमा सहयोग गर्न सबै मतदा, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.