तीनजना जेष्ठ पत्रकारले मासिक रुपमा पेन्सन पाउने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपालका ३ जना जेष्ठ पत्रकारहरुले मासिक रुपमा पेन्सन पाउने भएका छन ।
पत्रकार वृत्तिकोष तथा सञ्चालन समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा २०७९ असार २४ गते बसेको बैठकले नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक रुपमा पेन्सन दिने निर्णय गरेको हो ।
२०७९ साउन महिनादेखि मासिक रुपमा उमेर अनुसार, निरन्तर पेन्सन सुविधा प्राप्त गर्ने ३ जना जेष्ठ पत्रकारहरुमा पद्मभक्त खरेल (७७ वर्ष) मासिक रु.१० हजार रुपैयाँ), निरोधराज पाण्डे (७३ वर्ष) मासिक रु.७ हजार रुपैयाँ र चिरञ्जीवी अर्याल (६७ वर्ष) मासिक रु. ५ हजार रुपैयाँ) रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
‘पत्रकार वृत्तिकोष तथा सञ्चालन निर्देशिका २०७५’ को व्यवस्था अनुसार, तीन दशक निरन्तर पत्रकारिता गरेका पत्रकारहरुका लागि मासिक रुपमा पेन्सन(वृत्ति) उपलब्ध गराउन व्यवस्था गर्न बनेको ‘पत्रकार वृत्तिकोष तथा सञ्चालन निर्देशिका २०७५’का आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मापदण्ड बनाएको थियो ।
पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८ को आधारमा सूचना तथा प्रसारण विभागले २०७९ वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेर ४० दिनको म्याद राखेर २०७९ जेठ २३ गतेभित्र लिखित निवेदन दिन आव्हान गरेको थियो ।
‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८’ले गरेको व्यवस्था अनुसार, तीस वर्ष निरन्तर पत्रकारिता गरेको पुष्टि हुने कागजात, नेपाल सरकारका तीनवटै निकायबाट कुनै प्रकारको सहयोग प्राप्त नगरेको भनी जिल्ला प्रशासनबाट प्रमाणित कागजात, नेपाल पत्रकार महासंघको सिफारिस, नेपालको सरकारी सेवाबाट निवृत्त भई कुनै लाभको पदमा बसी सेवा सुविधा प्राप्त नगरेको भनी स्वघोषणा, द्वन्द्व पीडितको हकमा द्वन्द्व पीडित हो भनी खुलाउने प्रमाणित कागजात र सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाण पत्र जस्ता कागजात पेश गर्नुपर्ने र ६५ वर्ष उमेर पुगेको हुनु पर्ने व्यवस्था रहेको थियो ।
‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८’ अनुसार, १२ जना पत्रकारहरुको निवेदन परेको थियो । प्राप्त १२ थान निवेदनहरु अध्ययन तथा छानविन गर्दा ३ जना पत्रकारहरुको सबै प्रमाण पुगेको पाइएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.