समुदायका अगुवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्धि

घण्टेश्वर अनलाईन
डडेल्धुरा
ग्रामीण महिला बिकास तथा एकता केन्द्र(रुडुक)डडेल्धुराले विपद पछिको अवस्थालाई सहयोग पुर्याउन समुदायका अगुवाहरुको क्षमता बिकास गर्न थालेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिकाको वडा नं. ५ र ७ लाई कार्यक्षेत्र बनाएर प्राकृतिक र गैरप्राकृतिक प्रकृतिको विपद्पछिको अवस्थामा प्रभावकारी रूपमा प्रतिकार्य सम्बन्धि कार्य गर्नका लागि समुदायका अगुवाहरुको क्षमता अभिबृद्धि गर्न लागेको सँस्थाका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिनु भयो ।
समुदायका अगुवहरुको क्षमता अभिबृद्धि गर्ने क्रममा स्थानीय तहका जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयँसेविका, सामुदायिक आपतकालिन प्रतिकार्य समूहका स्वयंसेवकहरु, अमरगढी नगरपालिका दमकल ईकाइका प्रतिनिधि तथा समुदायका स्वयँसेवकहरुलाई आधारभूत तथा स्तरीय तालीम मार्फत क्षमता बिकास गरिने रुडुक डडेल्धुराले जनाएको छ ।
सँस्थाको तथ्याँक अनुसार हालसम्म अमरगढी नगरपालिका वडा नं. ५ र ७ का ४ सय १ जनालाई प्रारम्भिक विपद ब्यवस्थापन तालिम, विपद ब्यवस्थापन सम्बन्धि ५० जना लाई दु्रत लेखाजोखा तालिम नेपाली सेनाको रणबम गणसँगको सहकार्यमा १० वटा स्थानमा आगलागिबाट हुने क्षेती न्यूनिकरण सम्बन्धि पूर्बअभ्यास तालिम, सशस्त्र प्रहरी बल नं. ५२ सँग सहकार्य गरेर ३५ जनालाई खोज तथा उद्धार तालिम, वडा स्तरीय भुकम्प तथा आगलागी सम्बन्धि कृतिम पूर्ब अभ्यास तालिम तथा अमरगढी नगरपालिकाको कार्यालयमा विपद सम्बन्धि स्थानीय आपतकालिन कार्य सन्चालन केन्द्र स्थापनाको लागि आर्थिक तथा प्रबिधिक सहयोग गरिएको छ ।
यसै सन्दर्भमा रुडुक डडेल्धुराद्धारा आयोजना गरिएको ८ दिने प्राथमिक उपचार तालीम आज देखि डडेल्धुराको राईनो होटेलमा शुरु भएको छ । नगरपालिका भित्र घट्न सक्ने प्राकृतिक र गैरप्राकृतिक प्रकृतिको विपद्पछिको अवस्थामा प्रभावकारी रूपमा प्रतिकार्य एवं प्रारम्भिक प्राथमिक उपचार गर्नसक्ने जनशक्ति तयार गर्न र विपद् प्रतिकार्यका लागि सहयोग पुगाउने उद्देश्यले तालिम आयोजना गरिएको सँस्थाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले विपद पछिको अवस्थालाई सहयोग पुर्याउन समुदायका हरेक अगुवाहरुमा प्राथमिक उपचार सम्बन्धि आधारभूत ज्ञान हुनु पर्ने कुरा बताउनु भयो ।
विपद पूर्ब, बिपदको समय तथा बिपद पछि कार्यक्षेत्रमा समुदायका अगुवाहरु उपस्थित हुने भएकाले उनिहरुको ज्ञान सीप विपद पछिको अवस्थालाई व्यवस्थापन गर्न सहयोगी हुने नगर प्रमुख जोशीको भनाई थियो ।
यसैगरि बिशिष्ट अतिथी तथा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विपद पूर्ब जानकारी दिएर नआउने भएकाले यस सम्बन्धमा आबश्यक जानकारी लिएर चनाखो हुनु पर्ने बताउनु भयो ।
विपद ब्यवस्थापन सम्बन्धि कार्यक्रमको महत्वको वारेमा चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले विपद् ब्यवस्थापन गर्ने क्रममा सरोकारवाला निकायका बिचमा प्रभावकारी समन्वय हुनु पर्ने खाँचो औंल्याउनु भयो ।
यस्तै यु.एन.डि.पि. नेपाल क्षेत्रीय कार्यालय प्रमुख बैजन्ती गिरी सिंहले यु.एन.डि.पि. नेपालले स्थानीय साझेदार रुडुक डडेल्धुरासंग सहकार्य गरी विभिन्न मानविय सहायताका क्रियाकलापहरु सन्चालन गरिरहेका जानकारी दिदै आगामी दिनमा पनि स्थानीय सरोकारवालाहरुसँग समन्वय गरेर विपद व्यवस्थापन सम्बन्ध कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो ।
उक्त तालिममा अमरगढी नगरपालिकाका वडा नं. ५ र ७ का समुदायका स्वयंसेवकहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, अमरगढी नगरपालिका दमकल ईकाई प्रतिनिधि र वडा कार्यालयका प्रतिनिधिहरु गरी जम्मा ४८ जनाको सहभागीता रहेको छ ।
यूरोपेली आयोग मानविय सहायता विभागको आर्थिक तथा यु.एन.डि.पि. नेपालको प्राविधिक सहयोगमा रुडुक डडेल्धुराले अमरगढी नगरपालिकाको वडा नं. ५ र ७ मा शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी(सुपर) परियोजना कार्यान्वयन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.